नेपथ्य अमेरिका शृंखला–२०२४ : सानफ्रान्सिस्कोमा फेरि रचियो इतिहास !

14.5k Shares

सानफ्रान्सिस्को । अन्तिम गीत ‘रातो र चन्द्र सूर्य’ गाइसकेपछि सानफ्रान्सिस्कोस्थित विशाल वारफिल्ड हलको दुवै तल्लामा खचाखच भरिएका दर्शक उल्लासमा उफ्रिरहेकै थिए । मञ्चमा भएका कलाकारहरू हातेमालो गर्दै बिदाइ अभिवादनका लागि दर्शक अघिल्तिर बढे । अग्रभागमा रहेको कसैले नेपाली राष्ट्रिय झन्डा हल्लाइरहेको गायक अमृत गुरुङले देखे ।

साथीहरूलाई यथावत् छाडेर उनी सरासर अघि बढे र त्यो झन्डा समातेर सुरुमा आफूले ओढे अनि बाँकी सदस्यलाई समेत ढाकिदिए । त्यो दृश्यले हजारौँ दर्शकबीच उत्साह र उमंगको भेल बगे जस्तो भयो ।

'यसैगरी खुसी भएर बस्नुस्,' अमृतले बिदाइको हात हल्लाउँदै भने, 'नेपाली भाषा र पहिचानलाई जोगाएर बस्नुहोला है ।'

नेपथ्यले थालेको शृंखलाबद्ध अमेरिका यात्राको दोस्रो प्रदर्शन अमेरिकाको पश्चिमी तटीय सहर सानफ्रान्सिस्कोको प्रसिद्ध वारफिल्ड हलमा सम्पन्न भएको छ । यस हलमा ब्यान्ड, दोस्रोपटक प्रस्तुत भएको हो । अघिल्लोपटक आठ वर्षअघि नेपथ्य यसै हलमा उभिएको थियो । सय वर्षभन्दा पहिले सिनेमा देखाउने उद्देश्यका साथ तयार पारिएको यो सिनेमाहल कालान्तरमा मञ्चमा परिणत भयो ।

'कार्लोस सान्ताना, डेभिड बोई, बब डिलन र युटु जस्ता संगीतमा विश्वकै महान् नामहरूले कुनै समय आफूलाई उभ्याइसकेको यो मञ्चमा आज फेरि हामी प्रस्तुत हुँदै छौँ,' कन्सर्ट सुरु हुनुभन्दा केही समयअघि नेपथ्य ब्यान्डले आफ्नो फेसबुकमार्फत भनेको थियो, 'यो हाम्रो अहोभाग्य हो ।'

तोकिएको समय अर्थात् शनिबार बेलुकी ठिक ७ बजे हलका ढोकाहरू खुला गरिएका थिए भने ठिक ९ बजे वाद्यवादकहरूले निकालेको धुनकै बीच गायक अमृत हलमा प्रवेश गरेर अभिवादनका साथ गाउन सुरु गरे, ‘कोसीको पानी यो जिन्दगानी ।’

एक घण्टा पहिलेदेखि नै उल्लेख्य संख्यामा दर्शक उपस्थित भइसकेको हलमा पहिलो प्रस्तुतिदेखि नै संगीतप्रेमीहरू जोसिइसकेका थिए । सुरुदेखि नृत्यरत दर्शकहरू अन्तिमसम्म पनि सँगसँगै गाउँदै नाचिरहेकै देखिन्थे ।

'मैले नबुझ्ने भाषा भए तापनि असाध्यै रमाइरहेका दर्शकहरू हेरेर यो ब्यान्डको लोकप्रियता अनुमान गर्न सकिन्थ्यो,' स्थानीय साउन्ड इन्जिनियर फ्रिवे मिग्लियोर भनिरहेका थिए, 'मिक्सर चलाउँदै गर्दा म पनि नेपथ्यको संगीतमा झुमिरहेको थिएँ ।'

कार्यक्रममा ‘भेँडाको ऊन’, ‘छेक्यो छेक्यो’, ‘आँगनैभरि’, ‘लामपाते सुरती’ हुँदै अगाडि बढेपछि अन्तिम लहरमा ‘मै नाचेँ छमछमी’, ‘रेशम’, ‘तालको पानी’ हुँदै अन्त्यमा ‘रातो र चन्द्र सूर्य’बाट बिट मारिएको थियो । यसरी ब्यान्डको स्थापनाकालदेखि हालसम्मका नयाँ–पुराना गरेर जम्माजम्मी १७ वटा गीत प्रस्तुत गरिएका थिए ।

सम्बन्धित समाचार