काठमाडौं – साउनको अन्तिम सोमबार आज दुई लाखभन्दा बढी भक्तजनले पशुपतिनाथको दर्शन गरेका छन् । पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बिहान ४ बजेदेखि राति आठ बजेसम्म दुई लाखभन्दा बढीले दर्शन गरेको जानकारी दिए ।
सुन्दरीजलबाट बोलबम यात्रा गरी पशुपतिनाथ मन्दिरमा जल चढाउने भक्तजनका कारण पनि पनि आज मन्दिर परिसरमा निकै घुइँचो लागेको उनले बताए । दर्शनार्थी तथा बोलबम यात्रामा सहभागीका लागि सहज होस् भनी कोषले आज मन्दिरका चार वटै ढोका विहानैदेखि खुला गरेको थियो ।
साउनमा हिन्दु धर्मावलम्बीले भगवान शिवको पूजा आराधना र महिमा गाउने गर्छन् । यस अवसरमा शिव मन्दिर नजिकैका कुण्ड र नदीमा गाईको दूध र बेलपत्र चढाउने चलन छ । ठूलो सङ्ख्यामा दर्शनार्थी उपस्थित भएपछि सुरक्षाकर्मी एवं स्वयमसेवकको सङ्ख्या पनि बढाइएको विकास कोषले जनाएको छ । भक्तजनको सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायतको व्यवस्थापन गरिएको कोषका सदस्य सचिव डा मिलनकुमार थापाले बताए ।
आज काठमाडौँ उपत्यकामा पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किराँतेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वर लगायतका शिवालयमा भक्तजनका बिहानैदेखि भीड रहेको जनाइएको छ ।