२८ घन्टा भित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नु : सर्वोच्च

18.2k Shares

काठमाडौँ, असार २८ । सर्वोच्च अदालतले २८ घन्टा भित्र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको छ ।
सोमबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरासहितको संवैधानिक इजलासले प्रतिनिधि सभा पुनर्स्थापना गर्दै देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गर्न परमादेश जारी गरेको हो । यस्तै अदालतले ७ दिनभित्र संसद बैठक बोलाउन आदेश दिएको छ । 
प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन गरेको आधारमा कुनै पनि सांसदलाई कारबाही नगर्न सर्वोच्चले आदेश गरेको छ ।
गत जेठ ८ गते सरकारको सिफारिसमा राष्ट्रपतिले दोश्रो पटक प्रतिनिधि सभा विघटन गरेकी थिइन्। ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तीका लागि आह्वान गरेपनि दाबी नपुगेको भन्दै प्रधानमन्त्री नियुक्ती गरिएको थिएन । देउवा १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरेका थिए । 
तर केपी ओलीले जसपाको महन्त ठाकुर र आफ्नो हस्ताक्षरसहित १५३ सांसदको समर्थन रहेको भन्दै दाबी गरेपछि दुवै दाबी खारेज गरिएको थियो । 
विघटनको डेढ महिनापछि सर्वोच्चले फैसला गरेको हो। पहिलो संसद विघटन हुँदा ६७ दिनपछि फैसला आएको थियो । त्यतिबेला विघटन गैरसंवैधानिक भन्दै सर्वोच्चले बदर गरिदिएको थियो ।

सम्बन्धित समाचार