मलंगवा । सर्लाहीको बलरा नाका अहिले तस्करहरूको अखडा बनेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको स्थानीय युनिट प्रमुख र सशस्त्र प्रहरीको गणलाई समेत मिलाएर तस्करहरूले यस नाकाबाट ठूलो मात्रामा तस्करी गरिरहेका छन् । नेपाल प्रहरीका मधेस प्रदेश प्रमुख डिआइजी यज्ञबिनोद पोखरेलले सर्लाहीका नाकाबाट व्यापक तस्करी भएको सुचना पाएर तस्करी नियन्त्रण गर्न बारम्बार निर्देशन मात्रै दिएका छैनन् कि युनिट प्रमुख वा जुनसुकै प्रहरी संलग्न भएको भेटिए झिटीगुन्टा तयार भएर बस्न आदेश दिएपनि तस्करी रोकिएको छैन ।
यस नाकाबाट अहिले तस्करी हुने सामानहरूमा नेपालबाट भारत तर्फ स्याउ र मकै बढी मात्रामा गएको छ भने भारतबाट धान, प्याज , कपडा , चिनी , किराना सामानहरू बढी मात्रामा तस्करी भई आउने गरेको छ। तस्करीको सामान पक्राउ नगर्न दुबै प्रहरीको स्थानीय युनिट देखि जिप्रका र गण सम्म मिलाउने वा सेटिङ गर्ने काम नवीन चौधरीले गर्दै आएका छन् । तस्करहरूको सबै सेटिङ मिलाउने काम यिनै नवीन चौधरीले गर्ने गरेको सशस्त्र प्रहरीको गणका एक प्रहरी निरीक्षकले जानकारी दिए । नवीन चौधरीले कवाडीको धन्दा गर्दै आएका छन् । बाहिरी दुनियाँलाई देखाउन उनले १२ चक्के ट्रकमा कवाडीको सामान भारत तस्करी गर्दै आएको देखिए पनि उक्त ट्रक नेपाल फर्कने क्रममा कपडा र पटका ठूलो मात्रामा ल्याउने गरेको स्थानीय व्यवसायीहरू बताउँछन् । केही दिन अगाडि भारतीय कष्टमले चौधरीको सामान छापा समेत मारेको थियो । तर नेपालमा भने उनको तस्करी धन्दा खुलेयाम चलेको छ । नवीन चौधरीको तस्करी धन्दाका साझेदारहरूमा राजेश ठाकुर, प्रमाहंश , सन्तोष साह, श्याम मुख्य हुन । केही महिना अगाडि राजश्व अनुसन्धान इकाई कार्यालयले सन्तोष डिलरमा छापा मारेर करोडौं बराबरको तस्करीको सामान समेत बरामद गरेको थियो । उक्त सन्तोष डिलर यिनै मध्येका सन्तोष साहको थियो । यो समुहले प्रहरी र सशस्त्र प्रहरीलाई मासिक ७ लाखको दरले सकम दिने गरेको र तस्करीको लाइन लिएको यहाँका स्थानीय व्यवसायीहरू बताउँछन् ।
प्रहरीको बलरा थानामा सई दिपेन्द्र मल्ल प्रमुख छन् । उनको यस चौकीमा मात्रै यो तेस्रो पटक पोष्टिङ हो । सर्लाही र पर्साका अतिरिक्त कमाई हुने सबै थाना चौकी बसिरहेका मल्लको दरबन्दी पर्सा भए पनि उनी प्रदेशबाट काज गराएर सोझै बलरा हाजिर भएका हुन ।