एमाले अध्यक्ष ओलीको सिंहदरबारमा चौथोपटक ‘कमब्याक’

14.7k Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली मुलुकको ४५ औं प्रधानमन्त्री नियुक्त हुनुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार नेपालको संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो।

यो नियुक्तिसँगै ओलीको सिंहदरबारमा चौथोपटक ‘कमब्याक’ भएको छ। नवनियुक्त प्रधानमन्त्री ओलीलाई आज सोमबार बिहान ११ बजे पद तथा गोपनीयताको शपथ गराउने राष्ट्रपतिको कार्यालयले जनाएको छ। राष्ट्रपति कार्यालयमा शपथ लिएलगत्तै ओली सिंहदरबार पुगेर प्रधानमन्त्रीको कार्यभार सम्हाल्नुहुने छ।

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा बहुमत जुटाएका ओली चौथोपटक प्रधामनमन्त्री बन्न सफल हुनुभएको हो। निवर्तमान प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार संसद्मा ६३ मतमात्र पाएर विश्वासको मत गुमाएपछि राष्ट्रपति पौडेलले आइतबार साँझ ५ बजेसम्मका लागि संविधानको धारा ७६(२) अनुसारको सरकार गठनकोे आह्वान गरेलगत्तै ओली शुक्रबार राति नै राष्ट्रपति निवास पुगेर बहुमतसहित प्रधानमन्त्रीको दाबी पेस गर्नुभएको थियो । सरकारमा बहुमत पुर्‍याउनका लागि कम्तीमा १३८ सिट आवश्यक पर्नेमा ओलीले १६६ सांसदको समर्थनसहितको पत्र राष्ट्रपतिसमक्ष बुझाउनुभएको थियो ।

राष्ट्रिय सहमतिको सरकार बनाउन कांग्रेस–एमालेबीच असार १७ गते राती सत्ता सहकार्यको सहमति भएको थियो । ओली सरकारलाई संसद्को दुईतिहाई समर्थन रहने बताइए पनि दाबीपत्रमा कांग्रेस र एमालेका सांसदको समर्थन रहेको जनाइएको थियो ।

यद्यपि, ओलीको पक्षमा नेपाली कांग्रेस, एमाले, राप्रपा, जसपा, जनमत, लोसपा, नाउपालगायत दलले समर्थन गर्ने संकेत गरेका छन् । संवैधानिक व्यवस्थाअनुसार ओलीले आगामी ३० दिनभित्र संसद्बाट विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ ।

संसद्का प्रमुख दल कांग्रेस सभापति शेरबहादुर देउवा र अध्यक्ष ओलीबीच सत्ता सहकार्य गर्नेगरी सात बुँदे सहमतिमा हस्ताक्षर भएको थियो । उक्त दस्तावेज नेताहरूले सार्वजनिक नगरे पनि एमाले अध्यक्ष ओली दुई वर्ष प्रधानमन्त्री, कांग्रेस सभाापति शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने सहमति गरेको नेताहरूले बताएका छन् । आजको नेपाल समाचारपत्र दैनिकबाट 

सम्बन्धित समाचार