गाजा - इजरायली सेनाले बुधबार गाजामा थप घातक आक्रमण गरेको छ। ‘आक्रमण संयुक्त राष्ट्रसङ्घीय निकाय भवन भित्र सञ्चालनमा रहेको हमास लडाकूहरूको केन्द्रलाई लक्षित गरी’ भएको इजरायली सेनाले जानकारी गराएको छ। सेनाले मङ्गलबारको आक्रमणको थप समीक्षा गरिरहेको पनि बताएको छ।
आक्रमणमा दक्षिणी खान युनिस क्षेत्र नजिकैको विद्यालयमा कम्तिमा २९ जनाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ। विद्यालय भवनमा विगत चार दिनमा यो चौथो आक्रमण हो।
बुधबार बिहान मध्य सहर नुसिरातको एउटा घरमा भएको बम विस्फोटमा चार जनाको मृत्यु हुनुका साथै एक जना गम्भीर घाइते भएको अस्पताल स्रोतले जनाएको छ।
यसैगरी खान युनूस नजिकैको बानी सुहैलाको घरमा भएको अर्को आक्रमणमा दुई जनाको मृत्यु भएको र छ जना घाइते भएको अस्पताल स्रोतले जनाएको छ।
इजरायलले युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रमा दशौं हजार मानिसहरूलाई खाली गर्ने आदेश जारी गरेपछि गाजा सहर र दक्षिणी गाजामा हवाई तथा स्थल आक्रमणहरू बढाएको छ।
अक्टोबर ७ मा हमासको आक्रमणपछि जारी युद्धविरामबारे इजरायली अधिकारीले बुधबार कतारमा वार्ता सुरु गरेपछि सैन्य आक्रमण बढेको हो।