आज वाग्मती, कोसीमा बहाव उल्लेख्य बढ्ने, कहाँ–कहाँ बाढीको जोखिम ?

18.5k Shares

काठमाडौं । आज कमला, वाग्मती, पूर्वी राप्तीलगायत नदीमा पानीको बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह पुग्न सक्ने पूर्वानुमान छ ।

भोटेकोसी, तामाकोसी, दूधकोसी, सुनकोसीलगायत कोसीका सहायक नदीहरु तथा नारायणी र यसका सहायक नदीहरु त्रिशूली, बूढीगण्डकी, कालीगण्डकी, माङ्दीलगायतमा बहाव उल्लेख्य बढ्नेछ । केहीमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ ।
आज कन्काई, कमला, वाग्मती र पूर्वी राप्ती जलाधारका केही सहायक नदीहरुमा मध्यमदेखि भारी वर्षा भई बहाव उल्लेख्य बढ्ने र सतर्कता तह पुग्न सक्ने पूर्वानुमान छ ।
बिहानको मापनानुसार कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य रहेको छ । कोसी, नारायणी र यसका सहायक नदीमा बहाव बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज पश्चिम राप्ती, बबई, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य रहने जनाइएको छ ।
इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, तेह्रथुम, धनकुटा, ओखलढुंगा, पाँचथर, भोजपुर, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, काठमाडौं, धादिङ, मकवानपुर, चितवन, सिन्धुली, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, म्याग्दी, पर्वत, बागलुङ, नवलपुर, परासी, पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, रोल्पा, दाङ, दार्चुला, बझाङ, बाजुरा, डोटी, अछाम, बैतडी, डडेल्धुरा र आसपास जिल्ला भई बहने स–साना नदी जलाधारमा बहाव केही बढ्नेछ । केहीमा आकस्मिक बहाव भई सतर्कता आसपास पुग्न सक्ने पूर्वानुमान छ । तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा विशेष सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार