विश्वप्रसिद्ध लुम्बिनी क्षेत्र खतराको सूचीमा पर्ने सम्भावना

16.6k Shares

काठमाडौं । संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को) ले विश्व सम्पदा सूचीमा सूचीकृत विश्व प्रसिद्ध लुम्बिनी क्षेत्रलाई खतराको सूचीमा राख्ने चेतावनी दिएको छ।

विश्व सम्पदा समितिको जुलाई २१ देखि ३१ सम्म भारतको नयाँ दिल्लीमा हुने बैठकमा लुम्बिनी क्षेत्रलाई खतराको सूचीमा राख्ने संकेत पाएसँगै त्यसलाई रोक्न नेपालले युनेस्कोसँग आन्तरिक छलफल गरिरहेको छ।

दुई वर्षअघि बसेको ज्वाइन्ट रिएक्टिभ मोनिटरिङ मिसन २०२२ र गत वर्ष सम्पन्न विश्व सम्पदा समितिको ४५ औं सेसनमा भएको निर्णयअनुसार सुधार नआएको कारण युनेस्कोले आगामी जुलाईमा हुने ४६ औं सेसनमा खतराको सूचीमा राख्ने तयारी गरेको हो।

लुम्बिनी क्षेत्र विकास कोषले कार्ययोजना र सरकारको निर्देशनविपरीत मनपरी रूपमा संरचना निर्माण नरोकेको कारण लुम्बिनी क्षेत्रलाई खतराको सूचीमा राख्ने सम्भावना बढेको हो। उच्चस्रोतका अनुसार युनेस्कोले दिएको पछिल्लो प्रतिवेदनमा लुम्बिनी क्षेत्र विकास कोषले निरन्तर रूपमा विश्व सम्पदा क्षेत्रमा निर्माण नरोकेको कारण खतराको सुचीमा राख्न लागिएको उल्लेख छ। कोषले हालै निर्माण गरेका र निर्माणाधिन रहेका बत्ती बाल्ने घर, मेडिटेसन प्लेटफर्म र ५ नं. गेटसँगैको संरचनालाई खतराको प्रमुख कारणको रूपमा विश्लेषण गरिएको छ।

युनेस्कोले विश्व सम्पदा स्थलमा रहेका पुरातात्विक भग्नावशेषहरूमा देखिएको क्षयीकरण र सम्पदा क्षेत्रमा हुँदै आएको नयाँ विकास निर्माण रोक्नुपर्ने आवश्यक्ता औंल्याउँदै आएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र त्यस मातहतमा रहेको पुरातत्व विभागलाई जानकारी नदिई स्वीकृति प्रक्रियामा पनि नलगिकनै युनेस्कोको नियमविपरीत धमाधम निर्माण कार्य भएकोले लुम्बिनी क्षेत्र खतराको सूचीमा तयारी अघि बढेको हो। उच्च स्रोतका अनुसार लुम्बिनीमा पछिल्लो चरणमा निर्माण भएका सबै संरचनाको सम्पदा प्रभाव मूल्याङकन नभएको र विश्व सम्पदा क्षेत्रमा मनोमानी रूपमा उत्खनन् गरेको युनेस्कोको भनाइ छ। आजको नेपाल समाचारपत्र दैनिकबाट 

सम्बन्धित समाचार