१५१ केन्द्रीय सदस्य पराजित हुने निश्चित

13.1k Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादीक)को १०औं महाधिवेशन तयारी तीव्र रूपमा अगाडि बढिरहेको छ । आगामी १६ असारदेखि २० असारसम्म काठमाडौंमा महाधिवेशन हुँदै छ । त्यसका लागि प्रतिनिधि छनोटसँगै अन्य व्यवस्थापनका कार्यहरू तीव्र रूपमा अगाडि बढेको छ । एकीकृत समाजवादीको महाधिवेशनसँगै १ सय ५१ केन्द्रीय सदस्य केन्द्रीय कमिटीमा पराजित हुने निश्चित भएको छ ।

अहिलेको केन्द्रीय कमिटी ३ सय ५० सदस्यीय रहेको छ । अब विधानअनुसार केन्द्रीय कमिटीको संख्या १ सय ९९ सदस्यीय हुनेछ । त्यसैले, हाल केन्द्रीय कमिटीमै रहेका १ सय ५१ सदस्य पराजित हुने निश्चित छ । यसमा युवा, महिला, दलितलगायतको आरक्षण रहेकाले अब आउने नयाँ प्रतिनिधि केन्द्रीय कमिटीमा आउने निश्चित भएसँगै हाल केन्द्रीय कमिटीमा रहेका सदस्य पराजित हुनेको संख्या बढ्नेछ ।

हालको केन्द्रीय कमिटीभन्दा सानो अब निर्वाचित हुने वैधानिक व्यवस्थाका कारण कतिपय केन्द्रीय सदस्य आउने नयाँ कमिटीमा नपर्ने भएका हुन् । कतिपय केन्द्रीय सदस्य नै केन्द्रीय कमिटीमा नआउने भएपछि महाधिवेशनको हलबाटै विधान संशोधन गरेर केन्द्रीय कमिटीको संख्या बढाउने चर्चा पनि एकीकृत समाजवादीभित्र चलिरहेको छ । एकीकृत समाजवादीकी पोलिटब्युरो सदस्य दिलु पन्तले पार्टीको आवश्यकता, अहिलेको समयलगायतका कारण केन्द्रीय कमिटीको संख्या महाधिवेशनका प्रतिनिधिको सहमतिमा बढ्न सक्ने बताइन् ।

‘अहिलेको महाधिवेशनको तयारी तीव्र रूपमा अगाडि बढेको छ । प्रतिनिधि छनोट भइसकेको छ । केही ठाउँमा निर्वाचनबाटै प्रतिनिधि छनोट भएको छ भने अधिकांश ठाउँमा सर्वसम्मत नै प्रतिनिधि चयन हुनुभएको छ । दुई÷चार ठाउँमा विवाद देखिएकाले पार्टीले त्यसको समाधान गर्दै टुंगो लगाउँनेछ’ पन्तले राजधानीसँग भनिन्, ‘अहिले केन्द्रीय कमिटीको संख्या जति छ विधानअनुसार अब निर्वाचित हुने केन्द्रीय कमिटीको संख्या घट्ने भएकाले कतिपय केन्द्रीय सदस्य नै नयाँ कमिटीमा नपर्ने सम्भावना पनि हुन्छ । यद्यपि, महाधिवेशन प्रतिनिधिको सहमतिका आधारमा विधान संशोधन गरेर केन्द्रीय सदस्यको संख्या बढ्न पनि सक्छ ।’ एकीकृत समाजवादीको महाधिवेशन प्रतिनिधि चयन भइसकेका छन् ।

देशैभरि ५ असारमा प्रतिनिधि छनोट भएको हो । १०औं राष्ट्रिय महाधिवेशनका लागि देशभरबाट १ हजार ८ सय प्रतिनिधि छनोट भएका छन् । पन्तका अनुसार महाधिवेशनका लागि १ हजार ८ सय ४९ प्रतिनिधिको व्यवस्था गरिएकामा केही क्षेत्र र मातहतका कमिटीमा विवाद भएकाले प्रतिनिधि छनोट बाँकी छ । त्यसको पाँच प्रतिशत मनोनित हुने व्यवस्था छ । महाधिवेशन आयोजक समिति स्वतः प्रतिनिधि हुने व्यवस्था गरिएकाले करिब ४ सय ५० केन्द्रीय नेता स्वतः प्रतिनिधि भएका छन् । आजको राजधानी दैनिकबाट 

सम्बन्धित समाचार