काठमाडौं । चेक रिपब्लिक १६ औँ संस्करणको युरोकप फुटबलको क्वाटरफाइलनमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा १० खेलमाडीमा सिमित नेदरल्यान्ड्सलाई २–० गोल अन्तरले हराउँदै चेक रिपब्लिक अन्तिम आठमा प्रवेश गरेको हो ।
पुस्कास एरिनामा भएको खेलमा चेक रिपब्लिकलाई जित दिलाउन टोमास होलेस र पाट्रिक सिकले एक–एक गोल गरे ।
पहिलो हाफ गोल रहित बारबारी खेलेको चेक रिपब्लिकले दोस्रो हाफमा दुई गोल गर्न सफल भएको हो ।
नेदरल्यान्ड्स खेलको ५५ औँ मिनेटमा १० खेलाडीमा सिमित भएको थियो । नेदरल्यान्ड्सका म्याथ्युज डी डिडले रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए । खेलको ६८ औँ मिनेटमा होलेसले हेड मार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
८० औँ मिनेटमा सिकले गोल गर्दै टिमलाई २–० गोलको जित दिलाए । अब चेक रिपब्लिकले क्वाटरफाइनलमा डेनमार्कसँग खेल्नेछन् । डेनमार्क वेल्सलाई ४–० ले हराएर क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ ।