कलैया । बारा जिल्लाबाट तस्करी गर्न तस्करहरूलाई छुट दिएको हो कि भन्ने भान पछिल्लो समय हुन थालेको छ । किनकि यस्तो तस्करी धन्दा डेढ बर्ष यता भएको थिएन । यो भनाई हो सिम्रौनगढमा स्थानीयवासी बिन्देश्वर साहको । उनको कुरा सुन्दा लाग्छ कि बारा अहिले तस्करहरूको अखडा मात्रै नभएर उनीहरूलाई जतिसक्यो लुट भन्नाका लागि छुट दिइएको छ ।
कचर्वा प्रहरी चौकी मातहतको झरओखर सीमावर्ती क्षेत्रबाट अहिले दैनिक ५ सयभन्दा बढी बोरा धान प्रहरीको सेटिङमा तस्करी भई नेपाल भित्रिरहेको छ । स्थानीय श्याम साहका अनुसार प्रहरीले धान तस्करीको लागि चार जनालाई लाइन दिएको छ । तस्करीको लाइन पाउनेहरूमा बिन्देश्वर, राजकिशोर, जितेन्द्र यादव र श्यामसुन्दर रहेका छन् । यी चारजना मध्ये बिन्देश्वर र राजकिशोर नेपाली हुन भने जितेन्द्र यादव र श्यामसुन्दर भारतीय नागरिक हुन् ।
यसैगरी बैरिया नाकाबाट पनि केही दिन यता व्यापक तस्करी चलिरहेको छ । यो नाकाबाट भारतीय नागरिक उपेन्द्र र प्रदिप भन्नेलाई हार्डवेयरको ठूलो तस्करीको लाइन दिइएको छ । यो तस्करीमा नेपाल प्रहरीको बैरिया, पथलवाघाट र खजानी प्रहरी चौकीका प्रमुखहरूको संरक्षण र सेटिङ रहेको स्थानीय धुर्व साहले बताए । झारओखर नाकाबाट गुरूदेव, माष्टर, दीपक, भोला, बलिराम र अरबिन्दको कपडाको ठूलो तस्करी लाइन चलेको छ । यी मध्ये अरबिन्द भारतीय नागरिक हुन भने बांकी नेपाली हुन् । यसै नाकाबाट शत्रुधन र सुभाषको कुखुराको चल्लाको तस्करी पनि व्यापक मात्रामा चलिरहेको छ । तस्करीको लाइन दिएवापत तस्करहरूले नेपाल प्रहरीको हकमा बैरिया, पथलवाघाट र खजानीका असईहरूलाई सोझै रकम दिदै आएका छन् । नेपाल प्रहरीको हकमा बैरिया, पथलवाघाट र कचर्वा तीन वटै चौकी इलाका प्रहरी कार्यालय सिम्रौनगढ मातहत पर्दछ । बैरियामा असई रामविनय यादव, पथलवाघाटमा असई दिनेश कुमार महत्तो र कचर्वामा असई कमलेश साह रहेका छन् । इप्रका सिम्रौनगढमा भने प्रहरी निरीक्षक नवीन राई प्रमुख छन् ।
सशस्त्र प्रहरी बलको हकमा पिपरपाती स्थित प्रस्तावित गुल्मबाट घुमुवाको रूपमा परिचालन गरिएका हवल्दार प्रकाश थापाले गर्दै आइरहेका छन् । गुल्मपति डिएसपी काली प्रसाद चौधरीको अति बिश्वासपात्रको रूपमा हवल्दार प्रकाश थापा आंफै तस्करहरूसँग भेट गरेको यहाँ जो कोहीले पनि देखिरहेको हुन्छ । यहाँबाट मलको तस्करी पनि व्यापक रूपमा चलिरहेको छ । दैनिक ५ सयभन्दा बढी बोरा मलको तस्करी पनि हँुदै आएको छ । बैरिया बलुवाघाटबाट तस्करीको मल निस्कने गरेको छ । सयौं साइकलका माध्यमबाट मल तस्करी गरेर नेपाल ल्याई घर घरमा गोदाम गर्ने र त्यसपछि अन्यत्र लैजाने धन्दा हुदै आएको छ । सशस्त्र प्रहरीको गुल्मबाट खटिएका घुमुवालाई प्रति साइकल ५० रूपैयाँको दरले कारोवारीले घुष दिने गरेको साइकलवालाहरू बताउँछन् । यहाँ यसरी मल ल्याउने साइकल सयौंको संख्यामा छन् । तस्करीको लाइन मिलाउन सहयोग गर्ने व्यक्ति सिम्रौनगढ उद्योग बाणिज्य संघको अध्यक्ष लालबाबु कुशवाहा भएको र कारोवारका उनको पनि साझेदारी रहेको आरोप स्थानीय व्यापारीहरूको छ । तर उनी यो कुरालाई भने अस्वीकार गर्छन् ।
सशस्त्रका डिएसपी कालिप्रसाद चौधरी र सशस्त्र मुख्यालयको अनुगमन शाखाले डिएसपी सुदिप रेग्मी व्याजी भएको कारण कोर्ट माष्टरको आडमा घुमुवाको रूपमा परिचालित हवल्दार प्रकाश थापाको जति गुनासो र उजुरी परेपनि रेग्मीले जोगाउने गरेको खुलेको छ । उजुरी परेपछि रेग्मीले व्याजी चौधरीलाई फोन गर्ने र चौधरीले घुमुवा होइन भनेपछि रेग्मीले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई त्यही रिपोर्टिङ गर्ने गरेको पनि थाहा भएको छ ।