मकवानपुर - थानकोट-चन्द्रागिरि-चित्लाङ सडकखण्ड स्तरोन्नतिका लागि शुक्रबारदेखि एक महिनाको लागि बन्द हुने भएको छ।
उक्त सडकको चन्द्रागिरि खण्डमा मोड सुधार, उकालो कम गर्ने, सडक चौडा गर्ने लगायतको मर्मत शुक्रबारदेखि सुरु हुने भएकाले असार २५ गतेसम्म दिउँसोको समयमा बाटो बन्द गरिने निर्णय भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
सडक डिभिजन कार्यालय, काठमाडौँका इन्जिनियर रामकुमार श्रेष्ठले सडक सुधारका क्रममा सुरक्षालाई दृष्टिगत गरी एक महिनालाई सवारी आवागमन बन्द गर्न लागिएको जानकारी दिए। यो सडकखण्ड मर्मत गर्न रु तीन करोड ९३ लाखमा ठेक्का लागेको छ।
उनले सडक मर्मतको समय बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म पूर्ण रुपमा सडक बन्द गरिने बताए। थानकोट चित्लाङ सडकखण्ड सुधारका लागि गत वैशाखमा दुई भागमा ठेक्का लागेको थियो।