काठमाडौं- बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीसहित तीनजना वडाध्यक्षलाई एक महिना जेल सजाय भएको छ ।
काठमाडौं जिल्ला अदालतले शुक्रबार मेयर अधिकारीसहित तीनजना वडाध्यक्षलाई एक महिना जेल सजाय हुने फैसला सुनाएको हो ।
न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको इजलासले मेयर अधिकारीसहित वडाध्यक्षहरू नवराज भट्टराई, सुमन तामाङ र चन्द्रमान श्रेष्ठलाई जेल सजायको फैसला सुनाएको हो ।
सार्वजनिक जग्गामा बनेका संरचना अदालतको फैसला अनुसार हालसम्म नछाडेको देखिएको ठहरसहित नगरपालिकाको नेतृत्वलाई अदालतले सजाय सुनाएको हो ।
विवादित क्षेत्रमा रहेका संरचना हटाउन १०० दिनको समयसहित अदालतबाट २०८० वैशाख १७ गते नै चलन दिएकोमा संरचना नहटाउने कार्यले अदालतको फैसला सम्मान नगरेको देखिन आएको ठहर न्यायाधीश आचार्यले फैसलामा भनेका छन् ।