कार्यदलमा मिलेन कुरा, रविको नाम लेख्नै पर्ने अडानमा कांग्रेस यथावत

15.9k Shares

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) तयार गर्न बिहीबार दिउँसो बसेको कार्यदलको बैठक कुरा नमिली सकिएको छ।

अपरान्ह पौने ४ बजे सिंहदरबारस्थित कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको कार्यदलको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय छानबिन समितिको कार्यादेशमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम लेख्नै पर्ने अडान लिएको हो ।

बैठकपछि बाहिरिँदै नेकपा एमालेका प्रमुख सचेत महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले लामिछानेको नाम नराख्ने कुरामा कांग्रेस लचक भएको कुरा बताएका थिए । उनीहरू दुवैले भोलि बिहान साढे ८ बजेको कार्यदल बैठकमा कुरा टुंगिएर संसद् खुल्ने दाबी गरेका थिए ।

तर बैठकमा सहभागी नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले सत्ता पक्षले भने जस्तो आफूहरू लचक नभएको बताए । उनले अहिले पनि आफूहरू रवि लामिछाने मुछिएका चारवटा सहकारीसहित उनको पनि नाम संसदीय समितिको टीओआरमा लेखेर अनुसन्धान हुनुपर्ने अडानबाट पछि नहटेको बताए ।

सहकारी ठगी प्रकरणलाई लिएर सत्ता पक्ष र प्रतिपक्ष दुवै संसदीय छानबिन समिति बनाउन सहमत भए पनि कार्यक्षेत्रबारे कुरा मिल्न सकेको छैन ।

लामिछाने पोखरा र बुटवलसहितका ठूला सहरका सहकारीको करोडौं रुपैयाँ अपचलनमा मुछिएको आरोप कांग्रेसको छ ।

तर सत्ता पक्ष नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी भने कांग्रेसको मागमा सहमत नहुँदा समाधान निस्किन सकेको छैन । यसअघि मंगलबार बसेको कार्यदल बैठक पनि निष्कर्षविहीन भएको थियो ।

सत्ता पक्ष र विपक्षी दल आआफ्नै अडानमा रहँदा संसद् बैठक पनि निरन्तर अवरुद्ध भइरहेको छ । तीन दिनपछि बसेको कार्यदलको बैठकले संसदीय समितिको टीओआरलाई अन्तिम रुप दिने कोसिस पनि असफल भएको हो ।

सम्बन्धित समाचार