काठमाडौँ । बाहिरी चक्रपथ विकास आयोजना शीर्षकमा चार आर्थिक वर्षदेखि विनियोजित पुँजीगत खर्च एक रुपियाँ पनि हुन सकेको छैन । तर सोही आयोजनाका लागि ती आर्थिक वर्षमा विनियोजित चालु खर्च भने एक सुका पनि बचत हुँदैन । आर्थिक वर्षको अन्त्यसम्म चालु खर्चको विनियोजित रकम सबै सकिन्छ ।
हाल सहरी विकास मन्त्रालय अन्तर्गतको उपत्यका विकास प्राधिकरण मातहत रहेको यस आयोजना दुई दशकदेखि चर्चामा रहे पनि यसको काम अगाडि बढ्न सकेको छैन ।
प्राधिकरणका लेखा प्रमुख हुतराज पौडेलले आयोजनाको भौतिक काम अगाडि बढ्न नसके पनि कर्मचारीको तलब, सेवासुविधा तथा कार्यालय सञ्चालन गर्नुपर्ने भएकाले हरेक आर्थिक वर्षमा विनियोजन हुँदै आएको चालु अन्तर्गतको बजेट खर्च हुँदै आएको बताउनुभयो । आयोजनाको कुनै पनि भौतिक काम अगाडि बढ्न नसकेकाले विनियोजन हुँदै आएको पुँजीगततर्फको बजेट खर्च हुन नसकेको उहाँले स्पष्ट पार्नुभयो ।
लेखा प्रमुख पौडेलका अनुसार यस आयोजना अन्तर्गत आर्थिक वर्ष २०७७/७८ देखि पुँजीगत शीर्षकमा विनियोजन गरिएको बजेट खर्च हुन सकेको छैन । उक्त आवमा पुँजीगत खर्च शीर्षकमा १४ लाख २५ हजार ८४० रुपियाँ र चालु खर्चतर्फ ९८ लाख ८१ हजार ७५५ रुपियाँ विनियोजन गरिएको थियो । यसमध्ये चालु खर्चतर्फ विनियोजन गरिएको सबै रकम खर्च भएको थियो भने पुँजीगततर्फ विनियोजन गरिएको रकम खर्च हुन सकेको थिएन ।
त्यसै गरी आव २०७८/७९ मा पुँजीगत खर्चतर्फ ५५ लाख रुपियाँ र चालु खर्चतर्फ ९७ लाख ७५ हजार ८१२ रुपियाँ बजेट विनियोजन गरिएको थियो । उक्त आवमा पनि पुँजीगत रकम खर्च हुन सकेन भने चालुतर्फको रकम सुको पनि बाँकी रहेन । आजको गोरखापत्र दैनिकबाट