त्रिवेणी- रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ मा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। ढारपाखा सामुदायिक वनमाथिको भोट्नेगारेबाट फैलिएको आगो नेपाने टोलमा पस्दा ७० वर्षीया बुदी कामीको मृत्यु भएको छ। तीन वटा घर जलेर नष्ट भएका छन्।
आइतबार दिउँसो पौने २ बजेतिर ढारपाखा सामुदायिक वनमा लागेको आगो गाउँमा पस्दा नेपाले टोलका युवराज विक, अन्नते सार्की र वुदी कामीको घर जलेर नष्ट भएको हो। ७० वर्षीया कामीको घरबाट सामान निकाल्ने क्रममा आगोले जलेर मृत्यु भएको वडाअध्यक्ष तिलवीर केसीले राससलाई जानकारी दिए।
उनका अनुसार विक र सार्कीको एक–एकतले घर र कामीको दुई तले खरले छाएको घर जलेर नष्ट भएका छन्। घर भित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तन समेत जलेर नष्ट भएको वडाअध्यक्ष केसीले जानकारी दिए। ढारपाखा सामुदायिक वनबाट सुरु भएको आगो अहिले भित्रीखोला सामुदायिक वन, साईकुमारी सामुदायिक वनमा फैलिएको छ। स्थानीय वन समूह, इलाका प्रहरी कार्यालय बाँफिकोट र जनप्रतिनिधिको समूहले वनमा लागेको आगो नियन्त्रणमा ल्याउने प्रयास गरिरहेको वडाअध्यक्ष केसीले जानकारी दिए।