उपत्यकामा थप एक साता निषेधाज्ञा थपिने संकेत

17.4k Shares

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता थपिन सक्ने संकेत देखिएको छ । तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुहरुले अनौपचारिक रुपमा केही खुकुलो पार्दै थप एक साता निषेधाज्ञा थपिन सक्ने संकेत गरेका हुन ।

उपत्यकामा गत वैशाख १६ गतेबाट निरन्तर निषेधाज्ञा जारी छ । जेठ ३१ गतेसम्म निषेधाज्ञा जारी नै रहेकाले थप के गर्ने भन्नेबारे आइतबारसम्म निर्णय हुन सक्ने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए ।

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको बैठक चलिरहेको र अहिले केही निर्णय नभएको काठमाडौंकी सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताइन् ।

उपत्यकामा पछिल्लो समय संक्रमण र मृत्युदर घट्दो क्रममा छ । तर, सरकारको प्रभावकारी स्वास्थ्य व्यवस्थापनको अभावमा जनजीवन सहज भएसँगै कोरोना संक्रमणको दर बढ्न सक्ने चिन्ता पनि सरोकारवालाले व्यक्त गर्दै आएका छन् । नागरिकस्तरमा भने निषेधाज्ञा हट्नुपर्ने र स्वास्थ्य मापदण्ड अपनाएर जनजीवन सहज पार्नुपर्ने माग उठ्दै आएको छ ।

सरकारले निषेधाज्ञा मात्रै गर्ने र अन्य व्यवस्थापनमा ध्यान नदिएको भन्दै नागरिकस्तरमा सरकारी कदमको विरोध हुँदै आएको छ । अहिले उपत्यकामा अत्यावश्यकबाहेकका सबै सेवा ठप्प छन् ।

सम्बन्धित समाचार