अर्बौंको ठेक्का दिएबापत भक्तपुरमा साढे दुई रोपनी जग्गा घूस

15.3k Shares

काठमाडौ । लुम्बिनी विकास कोषका योजना प्रमुख वरिष्ठ इन्जिनियर तथा कोषका हर्ताकर्ताका रुपमा रहेका सरोज भट्टराईले एउटै ठेकेदार कम्पनीलाई २ अर्ब रुपियाँभन्दा बढीको ठेक्का दिएबापत सो ठेकेदार कम्पनीबाट राजधानीको भक्तपुरमा रहेको साढे २ रोपनी जग्गा घूसबापत लिएको पाइएको छ।

सरकारी कामका मनमौजी ठेक्का दिएर घूसबापत साढे २ रोपनी जग्गा लिने इन्जिनियर भट्टराईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

यसरी सरकारले सञ्चालन गर्ने विकास निर्माण र ठेक्कापट्टमा करोडौंको घूस चल्ने गरेको विषय यो प्रकरणले फेरि छताछुल्ल पारेको छ। नेपालका धेरैजसो विकास निर्माण र ठेक्कापट्टमा यस्तै घूस चल्ने गरेको बताइएको छ।

इन्जिनियर भट्टराइकै सक्रियतामा बाबुल निर्माण कम्पनी र त्यसका मुख्य सञ्चालक सफिक अहमदलाई आर्थिक वर्ष २०७५/७६ अघि कोषमा १२ वटा आयोजनाको काम गर्दा ९९ करोड, २५ लाख रुपियाँको ठेक्का दिलाएका थिए भने आव २०७५\७६ पछि हालसम्मको अवधिमा भट्टराईले सो बाबुल निर्माण सेवालाई विभिन्न आयोजनाको काम गर्न १ अर्ब ३७ करोडभन्दा बढीको ठेक्का दिलाइएको थियो।

सोबापत इन्जिनियर भट्टराईले ८० लाख रुपियाँ बराबरको जग्गा घूस लिएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस लिने इन्जिनियर भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियारका अनुसार इन्जिनियरले घूस मागेपछि ठेकेदार सफिक अहमदले इन्जिनियरका आमा जनक नन्दनी भट्टराईको नाममा भक्तपुरको गुण्डुस्थित कि.नं. १३७४ र १३७५ मा क्रमशः २ रोपनी ९ आना र २ आना क्षेत्रफलको जग्गा खरिद गरिदिएका थिए। आजको नेपाल समाचारपत्र दैनिकबाट 

सम्बन्धित समाचार