काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा चालु खाता १ खर्ब ६६ अर्ब ८७ करोडले बचतमा देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा चालु खाता ५५ अर्ब २८ करोडले घाटामा रहेको थियो ।
निश्चित समयावधिभित्र आवासीय र गैरआवासीय व्यक्ति–संस्थाबीच भएका चालु प्रकृतिका आर्थिक कारोबारको सारांश नै चालु खाता सन्तुलन हो । चालु खाताअन्तर्गत वस्तु तथा सेवा व्यापार खाता, आम्दानी खाता र ट्रान्सफर खाता रहेका हुन्छन् ।
नेपाल राष्ट्र बैंकले विहिवार सार्वजनिक गरेको फागुन महिनासम्मको आर्थिक तथा वित्तिय स्थितिको प्रतिवेदनअनुसार समग्रमा मुलुकको आर्थिक स्थिति बलियो देखिएको छ ।
फागुन महिनामा मात्र रेमिट्यान्स बढेर १ खर्ब २२ अर्ब पुग्दा चालु खाता सँगै शोधनान्तर बचत पनि उल्लेख्य बढेको छ ।
आर्थिक वर्षको ८ महिनामा शोधनान्तर बचत ३ खर्ब नाघेको नेपाल राष्ट्र बैंकले जनाएको छ । मुलुकबाट बाहिरिने भित्रिने रकम बढी भएपछि शोधानान्तर बचत हुने गर्दछ ।
राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले प्रकाशित गरेको फागुनसम्मको तथ्यांकमा आधारित आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार शोधनान्तर बचत ३ खर्ब २७ अर्ब ५५ करोड पुगेको छ । गत आवको सोही अवधिमा १ खर्ब ४२ अर्बले बचतमा रहेको शोधनान्तर बचत चालु आवको सुरुवातदेखि नै उल्लेख्य रुपमा बढेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा महँगी घटेको छ । केन्द्रीय बैंकले फागुनमा समग्र मुल्यवृद्धि अर्थात उपभोक्ता मुद्रास्फीति ४.८२ प्रतिशत रहेको जनाएको छ ।
अघिल्लो वर्षको सोही महिनामा ७.४४ प्रतिशत मुल्य वृद्धि भएको थियो । खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.९४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९५ प्रतिशत रहेको केन्द्रीय बैंकको भनाइ रहेको छ ।
यद्यपि फागुन महिनामा मरमसलाको भने २८.१७ प्रतिशत मुल्यवृद्धि भएको छ । तरकारीको १४.०७ प्रतिशत, दाल तथा गेडागुडीको ११.२२ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.३५ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ७.११ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ११.७९ प्रतिशतले घटेको छ । आजको राजधानी दैनिकबाट