रामहरी श्रेष्ठ हत्या प्रकरणः १५ वर्षपछि पक्राउ परे फरार मुख्य अभियुक्त खाम

17.6k Shares

काठमाडौं । कोटेश्वरका रेस्टुरेन्ट व्यवसायी रामहरी श्रेष्ठलाई घरैबाट लगेर हत्या गरिएको १५ वर्षपछि मुख्य अभियुक्त माओवादीका पूर्वकमान्डर कालीबहादुर खाम बल्ल पक्राउ परेका छन् । २८ वैशाख २०६५ मा शक्तिखोरस्थित माओवादी लडाकुको अस्थायी शिविरमा निर्मम कुटपिटबाट श्रेष्ठको हत्या भएको थियो ।

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाको निर्वाचन जितेर सत्तारोहण गर्दैगर्दा व्यापारी श्रेष्ठको हत्या भएको थियो । आज उनै प्रचण्डको नेतृत्वमा सरकार भएकै समयमा मुख्य अभियुक्त खाम पक्राउ परेका छन् । भर्खरै शान्ति पक्रियामा आएको माओवादीका लडाकुहरूले श्रेष्ठलाई चितवनको शक्तिखोरस्थित अस्थायी शिविरमा लगेर कुटीकुटी हत्या गरेका थिए । त्यसपछि काठमाडौंमा माओवादीविरुद्ध आन्दोलन चर्किएको थियो । व्यापारी श्रेष्ठको हत्या प्रकरणको विषयमा प्रचण्डले खामलगायतलाई कारबाहीको दायरामा ल्याउने भन्दै श्रेष्ठपत्नी रमिला श्रेष्ठसँग सातबुँदे सहमति गरेका थिए । त्यसपछि रमिला श्रेष्ठले माओवादीका पूर्वलडाकुविरुद्ध जाहेरी दिएकी थिइन् ।

प्रचण्डले श्रेष्ठ परिवारसँग सातबुँदे सहमति गरे पनि कालीबहादुर खामलगायतका पूर्वलडाकुको लामो समयसम्म संरक्षण गरे । पूर्वलडाकुविरुद्ध जाहेरी परेसँगै कालीबहादुर खाम, केशव अधिकारी, गंगाराम थापा फरार रहेका थिए । खामले अपहरण तथा कुटपिट गर्न निर्देशन दिएको, अधिकारी र थापाले अपहरण र कुटपिट गरेको अभियोग थियो । त्यस्तै, गोबिन्दबहादुर बटालाले अपहरण र शव व्यवस्थापन गरेको र अर्जुन कार्कीले शव गाडीमा लगेर फालेको अभियोग थियो । सर्वोच्च अदालतले सो मुद्दामा बटालालाई सफाइ दिएको थियो । त्यसपछि सोविरुद्ध परेको रिटमा १५ असोज २०७७ मा सर्वोच्चका न्यायाधीश दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माको पूर्ण इजलासले मुद्दाको पुनरावेदन गर्ने अनुमति दिएको थियो । आजको राजधानी दैनिकबाट 

सम्बन्धित समाचार