काठमाडौं । साम दामलगायत सबै उपाय प्रयोग गर्दै औषधि र आईटी क्षेत्रमा एकछत्र राज चलाउँदै आइरहेका औषधि र आईटी माफियाहरू एकपछि अर्को गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा पर्न थालेका छन्। अख्तियारले एकपछि अर्को गर्दै औषधि र आईटी क्षेत्रमा ठेक्कापट्टामार्फत् हैकम जमाउँदै आएका विरुद्ध भ्रष्टाचारमा मुद्दा दायर गर्न थालेपछि उनीहरूको नेक्सस तोडिन थालेको छ।
अख्तियारले हस्पिटेक इन्टरप्राइजेज प्रालिका सञ्चालक विशाल पण्डितलाई कोभिडको समयमा स्वास्थ्य निर्देशनालय धनकुटाले सामान खरिद गर्ने क्रममा सरकारी अधिकारीहरूसँग मिलेमतो गरी बद्नियतपूर्ण किसिमले झन्डै ३ करोडको अनियमितता गरेको भन्दै यही १८ चैत्रमा पण्डितविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
स्रोतका अनुसार पण्डितले स्वास्थ्य क्षेत्रमा सामान खरिदका क्रममा हुने ठेक्कापट्टामा हालीमुहाली चलाउँदै आइरहेका थिए । कोभिडको समयमा स्वास्थ्य निर्देशनालय धनकुटाका अधिकारीहरूलाई आर्थिक प्रभावमा पारी पण्डितले २ करोड ८९ करोडभन्दा बढीको आफ्नो बोलपत्रलाई स्वीकृत गराउन सफल भएका थिए । जबकि, त्यति बेला पण्डितको भन्दा २ करोड ८९ करोड कम कबोल गर्ने बोलपत्रलाई अस्वीकृत गरिएको थियो । यस प्रकरणमा अख्तियारले हस्पिटेक इन्टरप्राइजेज प्रालिका बजार व्यवस्थापक मनोजकुमार आचार्यविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । स्रोतका अनुसार पण्डितले गैरकानुनी कार्यमार्फत् ठेक्का सञ्चालन गरेर कमाएको पैसा होटल क्षेत्रमा लगानी गरेका छन् । गैरकानुनी रूपमा भएको कमाइलाई उनले होटल लगानीमा प्रयोग गर्दै आइरहेका हुन् ।
पण्डित सिंहदरबारस्थित दक्षिण गेटको नजिकै रहेको बसेरा बुटिक होटलका मालिक हुन् । सो बसेरा होटल पनि विवादित होटल हो । पण्डितले सिंहदरबारलाई सुरक्षा चुनौती दिँदै सो होटल स्थापना गर्न खोज्दा शुरूमा सरकारले रोक लगाएको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुरूमा सो ठाउँमा होटल स्थापना नगर्न भन्दै उहाँमाथि छानबिन गरेको थियो । तर, पछि पण्डित विभिन्न राजनीतिक र प्रशासनिक नेतृत्वलाई प्रभावमा पारी होटल सञ्चालन गर्न सफल हुनुभएको थियो । यद्यपि, अझै पनि होटल विवाद कायमै रहेको बताइएको छ । पण्डितमाथि अख्तियारले मुद्दा दायर गरेसँगै स्वास्थ्य क्षेत्रका ठेक्का पट्टामा उहाँले जमाउँदै आइरहेको प्रभाव कमजोर भएको छ ।
अख्तियारले यसअघि आईटी क्षेत्रका माफियाको रूपमा रहेका विकल पौडेल र सुनील पौडलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ । साथै गैरकानुनी सम्पत्ति छानबिनमा हाल पौडलद्वय अख्तियारको हिरासतमा रहेका छन् । उनीहरूविरुद्धको मुद्दा र पक्राउसँगै आईटी क्षेत्रमा देखिँदै आएको उनीहरूको वर्चस्व समाप्त भएको छ । आजको नेपालसमाचारपत्र दैनिकबाट