तिन दलको भयो एकीकरण, बन्यो नयाँ पार्टी

17.6k Shares

काठमाडौं । नेपालका मुख्य दलहरुप्रति जनविश्वास गुम्दै गइरहेको बेला नेपाल आमा पार्टी, नयाँ पार्टी नेपाल र नेपाल सुशासन पार्टीबीच एकीकरणको घोषणाले जनमानसमा केही विश्वास पलाएको छ । 
सो तिन पार्टीबीच आइतबार पत्रकार सम्मेलन गरी एकीकरणको घोषणा गरेको हो । यी तीन दल मिलेर पार्टीको नाम राष्ट्रिय मातृभूमि पार्टी राखिएको छ ।
काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरूले एकीकरणको घोषणा गरेका हुन् । उनीहरूले गत फागुन २३ गते नै निर्वाचन आयोगबाट नयाँ दल (राष्ट्रिय मातृभूमि पार्टी) दर्ताको प्रमाण पत्र लिइसकेका छन् । पार्टीको झन्डा तीन तारासहित काखमा बच्चा लिएकी आमा रहेको छ भने काखमा बच्चा लिएकी आमा चुनाव चिह्न रहेको पार्टीले जनाएको छ ।
जनतान्त्रिक शासन व्यवस्थाको माध्यमद्वारा सुशासन र समावेशी सिद्धान्तका आधारमा समृद्ध, समतामूलक र न्यायपूर्ण समाजको निर्माण गरी सुविधाराज्य स्थापना गर्ने पार्टीको दूरदृष्टि रहेको पार्टी एकीकरणको घोषणा कार्यक्रममा जानकारी गराइएको थियो ।
पार्टीको लक्ष्य जनकल्याणकारी राज्य व्यवस्थाको स्थापना गर्ने, राष्ट्रिय सद्भाव र एकता अक्षुण्ण राख्ने, विद्यमान आर्थिक एवं अन्य असमानताको अन्त्य गर्न सबै नागरिकमा समान अवसर र पहुँच पु¥याउने रहेको छ ।
राष्ट्रिय मातृभूमि पार्टी नेपालले शासकीय स्वरुप प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री उपयुक्त हुने धारणा अगाडि सारेको छ । पार्टीको चुनाव चिन्ह तीन तारासहित काखमा बच्चा लिएकी आमा रहेको छ । यो पार्टीको अध्यक्षता रामशरण पाण्डेले गरेका छन् । वरिष्ठ उपाध्यक्ष रोमलाल गिरीले नयाँको नाममा उदाएको दलहरुले केही काम गर्न नसकेको सो पत्रकार सम्मेलनमा जानकारी गराएका थिए । राष्ट्रिय मातृभूमि पार्टी देशभक्त दलको रुपमा स्थापित हुने उनले दाबी गरेका थिए । 
कार्यक्रममा हालै रास्वपाबाट आबद्धता टुंग्याएका रमेश खरेलले राष्ट्रिय मातृभूमि पार्टीका नेताहरुलाई स्वच्छ मनले देशको उद्धार गर्न आग्रह गरेका थिए । उनले राष्ट्रिय मातृभूमि पार्टीमा आफू भने आबद्ध नरहेको बताएका थिए । उनले आफू अहिले भ्रष्टाचार विरोधी अभियानमा रहेको जानकारी गराएका थिए । उनले आफू सुशासन पार्टीमा पनि नरहेको बताएको बताएका थिए ।
कार्यक्रममा राष्ट्रिय मातृभूमि पार्टीका उपमहासचिव लक्ष्मीदत्त भट्ट, उपाध्यक्षहरु, राजकुमार यादव, टुलराज बस्याल, अनिता श्रेष्ठ, रामकृष्ण ढकाल, महासचिव गोविन्द गिरी, सचिवहरु यज्ञराज बस्याल, खगेन्द्र बस्नेत, मनिराम लामिछाने, इन्द्रनारायण न्हुँच्छे, तेजेन्द्रकुमार प्रसाईं, सहसचिवहरु रामकुमार राई, लक्ष्मण फुयाल लगायत रहेका छन् ।

सम्बन्धित समाचार