‘दशैँ–तिहार, चेलीलाई उपहार’ अभियानमा ४३६ जनाले लिए निःशुल्क यातायात सेवा

8.6k Shares

खोटाङ – खोटाङमा एक युवा समूहले चाडपर्वलाई लक्षित गरेर सञ्चालन गरेको ‘दशैँ–तिहार, चेलीलाई उपहार’ अभियानमा चार सय ३६ जना छोरीचेलीले निःशुल्क यातायात सेवा पाएका छन् । नेपाल खेलकुद प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार राईको अगुवाइमा सञ्चालन गरिएको अभियानमा विभिन्न पालिकाका युवाले आफ्नै मोटरसाइकलमार्फत निःशुल्क यातायात सेवा प्रदान गरेका हुन् ।

जिल्लाका दशवटै पालिकाका युवाले आफ्नै मोटरसाइकलमार्फत छोरीचेलीलाई घरदेखि माइतीघर र माइतीघरदेखि घरसम्म तथा मावलीघरसम्म लैजान र फर्काउने सेवा दिएका छन् । चाडपर्वको मौकामा यातायातको पहुँच नपुगेको र सार्वजनिक गाडीहरु भरिभराउ हुँदा भनेजस्तो सिट नपाएर माइती/मावली जान नपाउने छोरीचेलीलाई लक्षित गरेर अभियान चलाइएको हो ।

दशैँको टीका (असोज १६ देखि असोज १९ गते) सम्म सञ्चालन गरिएको अभियानका क्रममा जिल्लाका विभिन्न सडकखण्डको ३५ किलोमिटर दूरीभित्रका छोरीचेलीलाई माइत, मावल र घर फर्काउने सेवा दिइएको थियो । अभियानमा जोडिएका युवाले ६६ वटा मोटरसाइकल र शुभम् फाउण्डेसनको एउटा चारपाङ्ग्रे जीपमार्फत सेवा दिएका हुन् ।

आर्थिक अवस्था कमजोर भएका र गाडीको पहुँच नभएका छोरीचेलीलाई घरबाट माइतीघर र माइतीघरबाट घरसम्म आउने जाने सेवा दिइएको युवा समूहले जनाएको छ । 

सम्बन्धित समाचार