काठमाडौं । पर्याप्त पुँजी कोष नहुँदा सकसमा रहेको कुमारी बैंक पनि डुब्ने आशंकामा सर्वसाधारणले धमाधम निक्षेप फिर्ता लिन थालेका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार सुरुदेखि पुससम्ममा ३ खर्ब ३३ अर्ब ६० करोड ९० लाख निक्षेप जम्मा गरिसकेकामा माघमा आएर यो रकम घटेर ३ खर्ब ३२ अर्ब ६ करोड ४० लाखमा झरेको छ । कुमारी बैंकलाई पत्याउन छाडेका ग्राहकले महिना दिनभित्रमा १ अर्ब ५४ करोड रुपैयाँ निक्षेप निकालेका देखिएको छ ।
लाभांश दिन नपाउने भएका कारण थप समस्यामा परेका कुमारी बैंकलाई अहिले गैरबैंकिङ पुँजीले पनि थिच्न थालेको छ ।
घरजग्गा धितो राखेर ऋण दिएको कुमारी बैंकलाई अहिले त्यही सम्पत्ति बोझ बन्न थालेको छ । पछिल्ला पाँच वर्षमा कर्जा असुल नभएका ऋणीको धितो पनि लीलाम गर्न नसकेपछि कुमारी बैंकमा गैरबैंकिङ सम्पत्ति थुप्रिन थालेको हो ।
हाम्रो मुलुकमा धितोमा सबैभन्दा बढी जग्गा र सुन राख्ने प्रचलन छ । नेपाल राष्ट्र बैंकको चालू आवको माघसम्मको तथ्यांकनुसार कुमारी बैंकको गैरबैंकिङ सम्पत्ति १ अर्ब ७६ करोड ४० लाख पुगेको छ । पुससम्ममा सो बैंकको गैरबैंकिङ्ग सम्पत्ति १ अर्ब ५५ करोड मात्र रहेको थियो । एक महिनामा २६ करोड गैरबैंकिङ सम्पत्ति थपिएपछि बैंकलाई थप सकस भएको छ ।
कर्जा प्रवाहमा मौलाउँदै गएको बेथितिका कारण कुमारी बैंक आर्थिक संकटमा पर्ने स्थिति देखिएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) र सञ्चालक समितिका अध्यक्षको मिलेमतोमा प्रवाह भएका कर्जा उठाउन नसक्ने स्थिति देखिएपछि मुलुककै प्रमुख वाणिज्य बैंकमध्येको एक कुमारी बैंक संकटोन्मुख अवस्थामा पुगेको हो । सो बैंकले महोत्तरी भंगाहाका दीनेशकुमार महतोलाई दिएको १ अर्ब ८० करोड रुपैयाँ डुब्ने अवस्थामा पुगिसकेको छ । आजको राजधानी दैनिकबाट