काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सत्तारूढ दलहरूले मन्त्रालयको भागबन्डा गरेसँगै मन्त्रिपरिषद् विस्तार गरिएको हो । प्रधानमन्त्री प्रचण्डसहित मन्त्रिपरिषद् २० सदस्यीय भएको छ । बाँकी केही मन्त्रालय पछि सहभागी हुने साना दलका लागि राखिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई बुधबार पद तथा गोपनीयताको शपथ गराएका हुन् । शीतलनिवासमा आयोजित शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री प्रचण्ड, सभामुख देवराज घिमिरेलगायतको उपस्थिति रहेको थियो ।
सत्तारूढ गठबन्धनका बीचमा भएको सहमतिनुसार नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट ८ जना, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाट ५ जना, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ४ जना र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)बाट २ जना मन्त्रिपरिषद्मा सहभागी भएका छन् । प्रधानमन्त्रीसहित मन्त्रिपरिषद् अहिले २० सदस्यीय भएको छ । सत्ता गठबन्धनमै रहेको जनता समाजवादी पार्टी नेपाल (जसपा)ले मन्त्री हुनेको नामावली टुंगो लगाउन सकेको छैन ।
विस्तारित मन्त्रिपरिषद्मा तीन जना उपप्रधानमन्त्री रहेका छन् । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका नारायणकाजी श्रेष्ठ उपप्रधान तथा परराष्ट्रमन्त्री, एमाले सचिवसमेत रहेका रघुवीर महासेठ उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायातमन्त्री र रास्वपा अध्यक्षसमेत रहेका रवि लामिछाने उपप्रधानसहित गृहमन्त्रीको शपथ लिएका छन् ।
एमाले र माओवादीले गृहमा दाबी गर्दै आएको भए पनि अन्ततः उनीहरूले आफ्नो अडान छोडेपछि गृह रास्वपाको भागमा परेको हो । माओवादीले यसअघिसमेत मन्त्री रहेका केहीलाई दोहो-याएको छ । एमालेले गत वर्ष १० पुसमा रहेका केही मन्त्रीसहित नयाँलाई समेटेको छ । आजको राजधानी दैनिकबाट