काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले सरकारले संसद् नभएको बेलामा अवैधानिकरुपमा ल्याएको बजेटमा चुरे तहसनहस पार्ने प्रावधान राखेको भन्दै त्यसलाई रोकेरै छाड्ने प्रतिवद्धता जनाएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत सरकारको उक्त निर्णयको विरोध गर्दै आम जनता, सञ्चारजगत, सचेत नागरिक समाज सबैलाई यसको प्रतिरोध गर्न आग्रह गरेका छन् ।
उनले भनेका छन्, “संसद नभएको बेला असंवैधानिक सरकारले अवैधानिक तवरले जस्केलाबाट ल्याएको बजेटमा नेपालको ढुङ्गा,गिट्टी,बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्नेु कार्यक्रम घुसाएर सरकारले आफ्नो असली अनुहार र घटिया सोच उजागर गरेको छ । वातावरण र चुरे संरक्षणमा सरकार कति असंवेदनशिल छ प्रस्ट भएको छ । यो नीतिगत भ्रष्टाचार हो । आफ्ना यारलाई पोस्न सरकार कुन हदसम्म गिर्छ भन्ने कुरा पुन:स्छर्लङ्ग भएको छ । चुरे क्षेत्र तहस नहस पारेर तराईलाई मरभुमिकरण गर्न उद्धत यस्ता प्रयत्नलाई विगतमा संसदीय समितिमा हुँदा पनि पटक पटक रोकेको हो । यसपटक पनि सरकारको यो निर्णय रोकेरै छाड्नेछौँ । अदालतको आदेश, संसदीय समितिका पटक पटकका निर्देशन र नागरिक खवरदारीलाई अन्देखा गर्दै सरकारले जस्केलाबाट ल्याएको यो जनविरोधी कार्यक्रमलाई हामी जनप्रतिनिधिले त प्रतिरोध गर्छौँ नै । आम जनता, संचारजगत, सचेत नागरिक समाज सबैलाई यसको प्रतिरोध गर्न आव्हान गर्दछु । ”