काठमाडौँ - गत ९ माघमा आयोजित २३औं सशस्त्र प्रहरी दिवसका अवसरमा आयोजित विशेष समारोहका प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सशस्त्र प्रहरीले २०६४ सालको निर्वाचनमा निभाएको नेतृत्वदायी भूमिका तथा २०७०, २०७४ र २०७९ सालमा सम्पन्न तीनै तहको निर्वाचन निष्पक्ष र शान्तिपूर्ण ढंगले सम्पन्न गराउन महŒवपूर्ण भूमिका खेलेको भनेर धन्यवाद मात्रै दिएनन्, २०७२ सालको महाभूकम्प तथा पछिल्लो समय बझाङ, जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्पलगायत विभिन्न समयमा घटेका प्राकृतिक तथा मानव सिर्जित विपद्मा बहादुरीपूर्वक खटिएर जनताको जीवन रक्षामा पु¥याएको योगदानको पनि प्रशंसा गरे । प्रधानमन्त्री प्रचण्डले मुलुकको सीमा सुरक्षार्थ समर्पित फौजका रूपमा हिमालदेखि तराईसम्मका कठिन भौगोलिक तथा वातावरणीय प्रतिकूलताका वाबजुद राष्ट्रसेवाको भावनासहित कार्यक्षेत्रमा परिचालित भएका सशस्त्र प्रहरी बल, नेपालका राष्ट्रसेवकहरूको योगदान धेरै नै महŒवपूर्ण रहेको बताएको सो कार्यक्रममा उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले सीमा सुरक्षा र विपद् व्यवस्थापनलगायतमा सशस्त्र प्रहरीले उल्लेखनीय भूमिका निर्वाह गर्दै आइरहेको चर्चा गरेका थिए ।
सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले धन्यवाद ज्ञापनका क्रममा नेपालको भौगोलिक सीमाको सुरक्षार्थ आफ्नो भूगोल छाम्दै नागरिकको उद्धारमा क्रियाशील रही संगठनले आफ्नो उद्धारका हातहरू सेती नदीको खोंचदेखि गोकियो हिमतालको बीच भागमा मात्र नभई भूकम्पको भग्नावशेष, बाढीपहिरो, विपद् प्राकृतिक घटनाहरूसम्म पुगेको र आगामी दिनमा पनि पुग्न हरदम तत्पर रहेको बताएका थिए । उनले आवश्यकता र अपरिहार्यताको विश्लेषण गरी संगठनको मौजुदा जनशक्तिबाट नै परिचालित हुनेगरी भूकम्पका लागि ‘अर्थ क्विक डेडिकेटेड’ कम्पनी स्थापना गरी सञ्चालनको तयारीमा रहेको बताएका थिए ।
२३औं सशस्त्र प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले त्यसबेला विपद् व्यवस्थापन र सीमा सुरक्षाको विषयलाई आफ्नो सम्बोधनका क्रममा विशेष चर्चा गरिरहँदा कार्यक्रममै रहेका पूर्वसशस्त्र प्रहरी महानिरीक्षक सनतकुमार बस्नेतको मुहार भने थप उज्यालिएको थियो । उनको मुहारमा खुसी नछाओस् पनि किन ? सशस्त्र द्वन्द्वको अन्त्यपछि सशस्त्र प्रहरी बलको आगामी भूमिकालाई लिएर प्रश्न उठिरहेका बेला बस्नेत ‘नेपाल प्रहरीको आफ्नै नियमित कार्य रहेको र सेना अन्तिम शक्ति भएको’ यथार्थता बुझेर आफू हिँड्ने सही गन्तव्य आफैंले पहिल्याउँदै त्यहीअनुसार अघि बढेका थिए ।
संगठन प्रमुखको हैसियतमा उनले सशस्त्रको अबको ध्यान विपद् व्यवस्थापन र सीमा सुरक्षामा केन्द्रित हुनुपर्ने भन्दै त्यसैअनुरूप संगठनलाई अगाडि बढाएका थिए । त्यसैले भन्नैपर्छ, विपद् व्यवस्थापन र सीमा सुरक्षाका विषयमा सशस्त्र प्रहरी बलले जति सफलता हासिल गरेको छ, त्यसको श्रेय उनै बस्नेतलाई जान्छ । आजको राजधानी दैनिकबाट