मधेस केन्द्रित दलहरू खिइँदै, अस्तित्व संकटमा

16.4k Shares

काठमाडौं । तराई मधेस राजनीतिको मूल मियो बन्ने उद्घोषका साथ स्थापना भएको मधेस केन्द्रित राजनीतिक दल खिइँदै जाँदा अस्तित्व संकटको अवस्थामा पुगेको छ।

मधेसको राजनीतिमा वर्चस्व जमाउन खोजेको मधेसी जनअधिकार फोरमबाट विभाजन भएर दल दर्ता गराएका नेताहरूले ती पार्टीलाई समेत टुक्राटुक्रामा विभाजन गराएर संकटपूर्ण अवस्थामा पुर्‍याएका हुन् ।

२०७४ सालमा ६ वटा दलहरू मिलेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पछिल्लो तीन महिनायता परिवारिक भागबन्डाको चपेटामा थियो। सो दलका वरिष्ठ नेता राजेन्द्र महतोले सोमबार पार्टीबाट विद्रोह गरेसँगै लोसपा फेरि संकटको भुमरीमा फसेको छ।

प्रतिनिधि सभामा चार सिट रहेको उक्त दलका नेता महतोले पार्टी परित्याग गर्दै राष्ट्रिय मुक्ति क्रान्तिको आह्वान गरेर मधेस केन्द्रित दलहरूको हैसियत थप खिइँदै जाने पुष्टि गर्नुभएको छ ।

साढे दुई वर्षअघि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग नेतृत्वको क्रियाकलापप्रति असन्तुष्टि जनाउँदै पार्टी फुटाएका महन्त ठाकुर, राजेन्द्र महतो र शरद्सिंह भण्डारीले पार्टीमा एकलौटी कब्जा जमाएर आफन्त भर्ती गर्ने केन्द्र बनाएको आलोचना खेप्दै आएका थिए।

पार्टीका शीर्ष नेताहरूले पदाधिकारीमा आफ्नै परिवार र नातागोतालाई भागबण्डा लगाएर पारिवारिक कब्जा गरिएको लोसपाभित्र आन्तरिक विवाद छताछुल्ल भए पनि नेता राजेन्द्र महतोले आधिकारिक रूपमा अलग भएको घोषणा सोमबार गर्नुभयो। उहाँले पत्रकार सम्मेलनमार्फत् तीन पृष्ठको ‘विशेष वक्तव्य’ वाचन गर्दै नयाँ आह्वान गर्नुभएको छ।

आन्दोलनको पूर्वतयारीस्वरूप काठमाडौंसहित काभ्रे, धादिङ, सिन्धुलीका विभिन्न ठाउँमा गोप्यरूपमा प्रशिक्षण चलाउँदै आउनुभएको छ। माघ ५ गते नै आन्दोलन घोषणा गर्ने तयारी भए पनि गृहकार्य पूरा नभएका कारण स्थगित गरिएको थियो। यसबीचमा महतो दुईपटक भारत गएर छलफल गर्नुभएको छ।

महतो लोसपाको पार्टी कार्यालय जान छाडेको चार महिना भइसकेको लोसपाका नेताहरूले बताएका छन्। दुई महिनादेखि अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीच बोलचाल बन्द थियो। सरकार छाडेर आन्दोलनमा जाने महतोको आग्रहलाई ठाकुरले अस्वीकार गरेसँगै दुई नेताबीच विवाद शुरू भएको नेताहरूले बताएका छन्। आजको समाचारपत्र दैनिकबाट 

सम्बन्धित समाचार