काठमाडौं । दोस्रो संविधानसभाबाट ३० भदौ २०७२ मा पारित भएको नयाँ संविधान ३ असोजमा जारी हँुदा संविधानमा ‘धर्म निरपेक्ष’ राख्दा नेपाली कांग्रेसका तत्कालीन संविधानसभामा रहेका ६ सय १ सदस्यमध्ये २ सय ७ जनाले समर्थनमा हस्ताक्षर र ताली बजाएका थिए ।
सोही संविधानको विषयमा संविधानको प्रत्येक भाग, धारा र अनुसूचीमा बहस पनि भएको थियो । सबैमा समर्थन जनाएको कांग्रेसभित्र अहिले सनातन हिन्दु धर्मको आवाज बुलन्द रूपमा उठिरहेको छ ।
शुक्रबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा २२ जना केन्द्रीय सदस्यले सनातन हिन्दू राष्ट्र हुनुपर्नेमा आफ्नो एजेन्डासहित पूरक प्रस्ताव पेस गरे । शंकर भण्डारीको नेतृत्वमा भएको सो हस्ताक्षरसहितको पूरक प्रस्तावमा पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, प्रकाश रसाइली स्नेही, विद्या तिमल्सिना, गेहेन्द्र गिरी, रंगमती शाही, सीता देवकोटा, सीताकुमारी, दिलेन्द्रप्रसाद बडु, डा. डिला संग्रौला, शारदा पौडेल र अर्जनुबहादुर सिंहले हस्ताक्षर गरेका छन् । हस्ताक्षर गर्नेमा चम्पादेवी खड्का, नागिना यादव, नृपबहादुर वड, सञ्जय गौतम, भीम पराजुली, दिनेश कोइराला र मुक्ताकुमारी यादव पनि छन् । प्रस्तावमा हस्ताक्षर गर्ने प्रदेश सभापतिहरूमा बाग्मतीका इन्द्रबहादुर बानियाँ र गण्डकीका शुक्रराज शर्मासमेत छन् ।
‘कांग्रेसजस्तो व्यापक जनाधार भएको प्रजातान्त्रिक पार्टीले नेपाली भूमिमा प्रादुर्भाव भएको बौद्ध एवं किरात धर्म, दर्शन, संस्कृतिसहित ९४ प्रतिशतभन्दा बढी वैदिक सनातन हिन्दु धर्म र संस्कृतिमा आस्था र विश्वास राख्ने जनताको भावनालाई पूरै उपेक्षा गरी राष्ट्रिय एकताका आधार, आपसी सद्भाव, सहिष्णुता, सहअस्तित्वको अभ्यासमा खलल पुग्नेगरी नेपाली कांग्रेस धर्म निरपेक्षताको पक्षमा उभिनु ठीक थिएन,’ उनीहरूले भनेका छन् ।
उनीहरूले वैदिक सनातन हिन्दु राष्ट्र कायम गर्न त्रिवेणी धाम र काठमाडौंमा भएको महासमिति बैठकका बहुमत महासमिति सदस्यले प्रस्ताव राखेको पनि नेतृत्वलाई सम्झाएका छन् । उनीहरूले ७ फागुनदेखि हुने महासमिति बैठकका लागि सो प्रस्ताव अगाडि सारेका हुन् । आजको राजधानी दैनिकबाट