पश्चिम नवलपरासीको बसैयाको तस्करी कहिले रोकिन्छ ?

16.8k Shares

परासी  । पश्चिम नवलपरासीको बसैया नाकाबाट व्यापक तस्करी भैरहेको छ । बसैया नाका केही दिन यतादेखि तस्करहरूको लागि उर्वर ठाउँ बनेको छ । बसैया नाकाबाट धान र चामलको तस्करी व्यापक मात्रामा भैरहेको छ । भारतीय गणतन्त्र दिवस र अयोध्यामा रामको मूर्तिमा प्राणप्रतिष्ठा गर्ने कार्यक्रमका कारण केही दिन रोकिएको तस्करी धन्दा गत सोमबारबाट व्यापक भएको छ । बसैया र आसपासका क्षेत्रबाट मात्रै झण्डै ४० जना कारोबारीहरूले धान र चामलको ठूलो तस्करी गरिरहेका छन् । यो तस्करी धन्दामा प्रहरी चौकी बसैयाका प्रमुख  सई मिठु थापाको संरक्षण रहेको प्रष्ट हुन्छ । किनकि प्रहरीको संरक्षण बेगर यति ठूलो तस्करी धन्दा सम्भव नै छैन ।  ४० जना कारोबारीहरूले दैनिक झण्डै ३० ट्याक्टर धान र चामलको तस्करी गरिरहेका छन् ।  पश्चिम नवलपरासीमा प्रहरीका जिल्ला मातहतका पोष्टहरूमा जानका लागि टेण्डर हाल्ने प्रचलन नै रहेको छ । जसले जति धेरै रकमको कबोल गर्छ उसले सबैभन्दा राम्रो पोष्ट पाउंछ ।  त्यसरी टेण्डर हालेर जानेले जिल्लामा बुझाउने मात्रै होइन आफ्नो लागि पनि कमाउनु पर्याे नै । अति राम्रा र धेरै अतिरिक्त आम्दानी हुने यहाँका थाना चौकीमा भुजहवा र बसैया प्रमुख हुन ।
अहिले बसैया नाकाबाट धान र चामलको  कारोबारमा मिन्टु यादव, पृथ्वी बनियां, गोबिन्द बनियां, बच्चन बनियां, जयहिन्द बनियां, मनोहर बनियां गोरख बनियां मुख्य छन् । उनीहरूले भारतबाट धान र चामल तस्करी गरेर नेपाल ल्याउंछन । राति १० बजेदेखि बिहान ६ बजेसम्ममा  नेपाल  ल्याएपछि बिहान ६ देखि ७ बजे भित्र नेपालकै उत्पादन भनेर बिल बनाउंछन् । बिल सक्कली भए पनि कारोबार चाहिँ नक्कली हुन्छ । अनि त्यही बिलको आधारमा उक्त धान चामल परासी स्थित सन्तोष अग्रहरि, ओम नेचर कम्पनी, मारूती नन्दन जस्ता गोदाममा लैजाने गरिन्छ ।त्यसपछि मात्रै अन्यत्र पठाउने काम हुन्छ । यति ठूलो तस्करी बसैयाबाट भैरहेको छ भने यो तस्करीमा त्याहांको प्रहरी चौकीका सई मिठु थापाको संरक्षण र सेटिङ छैन भनेर कसरी भन्ने ?  उता जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका एसपी काजी कुमार आचार्य भने तस्करी नियन्त्रण गर्न मातहतलाई निर्देशन दिएको बताउँछन् ।
यसरी जिल्ला प्रमुख आचार्यले लुम्बिनी प्रदेशका  प्रमुख डीआईजी कुवेश कठायतको समेत आँखा छलेर पछिल्लो समय पश्चिम नवलपरासीमा व्यापक तस्करी गराउने गरेको स्रोतले दावी गरेको छ । यसरी पश्चिम नवलपरासीमा मौलाएको तस्करी नियन्त्रण गर्न डीआईजी कठायतले कस्तो कदम चाल्लान् वा आँखा चिम्लिएर बस्लान् त्यो भने हेर्न बाँकी छ ।

सम्बन्धित समाचार