दाङ– कांग्रेस नेता विमलेन्द्र निधिले गठबन्धन सरकार २०८४ सम्म टिक्ने दावी गरेका छन्।
नेपाल प्रेस युनियन दाङ शाखाले बुधबार घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्व गृहमन्त्रीसमेत रहेका नेता निधिले सत्ता गठबन्धनमा भएका सहमतिको अक्षरशः कार्यान्वयनका लागि गठबन्धन टिकाउनको विकल्प नरहेको बताए।
उनले देशको नेतृत्व पहिलो चरणमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्हालिरहेको बताउँदै दुई वर्षपछि समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एक वर्ष नेतृत्व गर्ने बताए।
पाँच वर्षे अवधिको अन्तिम दुई वर्ष कांग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्व सम्हाल्दै ०८४ मा निर्वाचन गराउने गरी सहमति भएको हुँदा अहिलेको सत्ता गठबन्धन टिकाउन सबै लाग्नुपर्ने दावी गरे।
नेता निधिले अहिले संयुक्त सरकार भएकाले निर्वाचनमा जनतासँग बाचा गरेअनुसार काम हुन नसके पनि गठबन्धनको आवश्यकता भने आगामी निर्वाचनसम्म हुनुपर्नेमा जोड दिए