काठमाडौँ – सर्वोच्चमा शुक्रबार एकै दिन ६२४ थान मुद्दाको पेशी तोकर २१३ वटा फैसला भएको छ। शुक्रबारको आँकडा सर्वोच्चमा एकै दिन धेरै मुद्दा छिनिएकोमध्ये हो।मुद्दाको अत्याधिक चाप रहेको सर्वोच्चमा लगत घटाउने उद्देश्यले एकै दिन धेरै मुद्दाको पेशी तोकेर सुनुवाइ गरिएको हो।सहप्रवक्ता गोविन्द प्रसाद घिमिरेले कार्यालय समयभन्दा अतिरिक्त समयमा पनि काम भइरहेको बताए।
उनले भने,‘हामी शुक्रबार ४ बजेसम्म इजलास चलाइ रहेका छौँ। अरु दिन ५ बजेसम्म न्यायाधीशहरु मुद्दा सुनुवाइ गरिरहनुभएको छ।’शुक्रबार पेशीको संख्या धेरै हुनुको कारण सामान्य खालका निवेदनहरुलाई पनि सुनुवाइका लागि एकैपटक तोकिएको हो। सर्वोच्चमा हाल ३० हजारभन्दा धेरै मुद्दा विचाराधीन अवस्थामा छन्।शुक्रबार २१३ थना मुद्दा फैसला हुँदा, निर्णय सुनाउनका लागि २ वटा, आदेश ७१ वटामा, स्थगित १०१ वटा भएका छन्। हेर्न नभ्याइनेमा २०६, हेर्न नमिल्ने ३१ वटा मुद्दा, रिट निवेदन परेका छन्।
सर्वोच्चका लागि गत पुस ५ गतेदेखि ६ जना न्यायाधीश थपिएसँगै २० जना न्यायाधीशले मुद्दा सुनुवाइ गरिरहेका छन्। अतिरिक्त समयमा गत वर्षदेखि नै काम गरिए पनि गत साउनदेखि मंसिरसम्म रोकिएको थियो। मंसिरदेखि भने अतिरिक्त समयमा पनि मुद्दा सुनुवाइका लागि सर्वोच्चले काम गरिरहेको घिमिरेले जानकारी दिए।अतिरिक्त समय काम गरेको पारिश्रमिक पाउनुपर्ने माग सर्वोच्चका कर्मचारीले गरिरहेका छन्। न्यायपालिकासहित अरु कामको चाप भएका कार्यालयमा सरकारले २०७५ सालसम्म अतिरिक्त समय काम गरेको भत्ता दिँदै आएको थियो।
प्रोत्साहन भत्ताका रुपमा दिँदै आएको रकम काटिएपछि न्यायपालिकामा अतिरिक्त समय काम रोकिएको थियो। तर सर्वोच्चमा मुद्दाको चाप अत्याधिक बढेसँगै भत्ताविनै आफूले काम गरिरहेको सर्वोच्चका एक उच्च तहका अधिकारीले बताए।
उनले भने, ‘उनले भने काम थपिएको थपियै छ। तर कामअनुसार पारिश्रमिक हामीले पाएका छैनौँ। तर पनि अतिरिक्त समय काम गरेर जनतालाई चाँडो न्याय दिन लागि परेका छौँ।’चालु आर्थिक वर्षको बजेटमा भाषणले अर्थतन्त्रमा अत्याधिक चाप परेको भन्दै नीतिगत रुपमै प्रोत्सान भत्ता नदिने घोषणा गरेको छ।