असुरक्षित यौन सम्पर्कका कारण यौन रोग लाग्छ । यौनरोग पुरुषबाट महिलामा सजिलै सर्छ’ सुमेरु अस्पतालकी स्त्री रोग विशेषज्ञ डा. अचिरा चर्तुवेदीले खोजतलाससँगको स्वास्थ्यवार्तामा भनिन्, ‘योनीबाट असामान्य श्राव हुनु, तल्लो पेट दुखिरहनु, जनेन्द्रियमा डाबर, गाँठो वा घाउ हुनु आदि महिलामा देखिने यौनरोगका लक्षण हुन् ।’
यौन क्रियाकलापमा सक्रिय प्रजनन उमेर समूहका व्यक्तिहरू यौनरोगको अत्यधिक जोखिम समूहमा पर्छन् ।
कोरोना भाइरसको त्रास कायमै रहेका बेला अस्पतालमा बिरामी आउने क्रम कस्तो छ र ?
कोरोनासँग सम्बन्धित समस्या देखिएको छैन । पुरानै खालका समस्य लिएर अस्पताल आउने क्रम जारी नै छ । अहिले महिला मानसिक तनाव (मेन्टल स्ट्रेस) बाट धेरै पीडित छन् । राति निद्रा नलाग्ने समस्या पनि बढि नै देखिएको छ । कोरोना अघिको सामान्य अवस्थामा जनरल चेकअपका लागि यति धेरै बिरामी अस्पताल आउँदैनथ्ये, अहिले बढेको छ । पाठेघर दुख्ने, पाठेघरमा ट्युमर देखिने जस्ता समस्या लिएर उपचारका लागि आइरहनु भएको छ । कोरोनाको त्रास कायमै रहेकाले होला बिरामीमा त्रसित नै छन् ।
महिलामा के कस्ता रोगहरू देखा पर्छन् ?
धेरै युवती तथा महिलाहरूमा देखिने समस्यामा सेतो गन्हाउने पानी बग्ने, पिसाब गर्दा पोल्ने, असजिलो हुने, दुख्ने, बारम्बर पिसाब लाग्ने, यौन सम्पर्क गर्दा योनी भित्र दुख्ने लगायत पर्छन् । स्तन क्यान्सर, पाठेघरको समस्या, पिसाबको संक्रमण, पायल्स, फिस्टुला पनि देखिन्छ । महिलाहरूमा पाठेघर सम्बन्धित धेरै रोगहरू देखा पर्छ । पाठेघरको ओभरीमा समस्या आउँछ । ओभरीमा स—साना गिर्खाहरू (सिस्ट) देखा पर्छ । पाठेघरमा ट्युमर पनि हुन्छ । गर्भवती महिनावारीसँग सम्बन्धित रोगहरू पनि महिलामा देखिन्छन् ।
उमेर समूहले रोग लाग्ने खतरा निर्धारण गर्छ ?
जुन सुकै उमेर समूहका महिलामा पनि स्त्री रोगहरू देखा परेका छन् । सानो बच्चाहरूमा पनि यो रोगहरू देखिएको हुन्छ । अण्डा बन्ने ठाउँमा गिर्खा (सिस्ट) देखा पर्छन् । सानो बच्चाहरूको पाठेघरमा देखिने सिस्टको साइज अनुसार रोगको उपचार विधि प्रयोग गरिन्छ । ५ सेन्टिमिटरको ट्युमर छ भने त्यो आफैं निको हुन्छ त्यसलाई केही गर्नु पर्दैन । त्यो भन्दामाथिको ट्युमर छ भने शल्यक्रिया बाहेक अन्य उपचार विधि नै छैन । कस्तो ट्युमर देखा परेको हो त्यो पनि विचार गर्नुपर्छ ।
पाठेघरको मुखको क्यान्सरबाट कसरी बच्न सकिन्छ र ?
अहिले पाठेघरको मुखको क्यान्सरका लागि खोप पनि उपलब्ध छ । ९ वर्षदेखि ४५ वर्षका महिलाले यो खोप लगाउन सक्छन् । यो खोप लगायो भने पाठेघरको मुखको क्यान्सर लाग्नबाट बच्न सकिन्छ । खोप पनि दुई प्रकारका हुन्छन् सर्भरिक र गार्डसिल । ६–६ महिनाको फरकमा दुई डोज लगाएपछि १० वर्षसम्म पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ । यो खोपको सुविधा सुमेरु अस्पतामा पनि छ । जति छिटो लगायो त्यति राम्रो । यो २ हजारदेखि ३ हजार रुपैयाँमा उपलब्ध छ ।
कस्तो अवस्थामा पाठेघरको मुखको क्यान्सर हुन्छ र ?
पाठेघरको क्यान्सर हुनुका पछाडि महिलाले यौनाङको स्वस्थ्यमा पर्याप्त ध्यान नदिनु नै मुख्य कारण बनिरहेको छ । यौन गतिविधिका कारण यो रोग लाग्ने हो । एकल सम्बन्ध भएकाहरूमा यो रोग देखा पर्न सक्ने खतरा कम हुन्छ । धेरै जनासँग (मल्टिपल सेक्सुयल रिलेसन) यौन सम्पर्क गरेका महिलामा यो रोग देखिन सक्छ । ग्रामीण क्षेत्रका महिलामा यो रोग धेरै देखिएको मेरो अनुभव छ । ग्रामीण क्षेत्रका महिलामा स्वस्थ्यतर्फ पर्याप्त ध्यान दिँदैनन् । त्यसैले यस्ता रोगहरू ग्रामीण वस्तीमै धेरै देखिएको हुन सक्छ । किशोरीले शारीरिक सम्पर्क सुरू गरेपछि क्यान्सर रोग लाग्ने खतरा बढ्दै जान्छ ।
पाठेघर क्यान्सर भए–नभएको कसरी थाहा पाउने ?
पाठेघरको स्किन टेष्ट गर्दा पनि यो रोग पत्ता लाग्छ । विकसित मुलुकमा महिलाहरूलाई लाग्ने सबभन्दा खतरनाक रोग स्तन क्यान्सर हो । स्तन क्यान्सरबाट बच्नका लागि महिला आफैंले आफ्नो स्वास्थ्य परीक्षण गर्न सक्छिन् । स्तन छामेर त्यहाँ गिर्खा जस्तो भेटियो भने चिकित्सकलाई देखाउनुपर्छ ।
स्तन क्यान्सर बारेमा बताइदिनुस् न ?
महिलामा देखिने अर्को रोग हो स्तनको क्यान्सर । स्तनका कोषहरू असामान्य वृद्धि हुन थालेपछि स्तन क्यान्सरको सम्भावना हुन्छ । स्तनमा भएका कोष–कोषिकामा असामान्य परिवर्तन आई तिनीहरूको अनियन्त्रित तथा अनावश्यक वृद्धिबाट बन्ने गिर्खा, गाँठागुँठी र निको नहुने घाउलाई स्तन क्यान्सर भनिन्छ । स्तन क्यान्सर प्रायः दूध उत्पादन गर्ने नलीबाट सुरु हुन्छ । स्तन क्यान्सर शरीरको कुनै पनि भागमा फैलिन सक्छ ।
स्तन क्यान्सरका लक्षण कस्ता हुन्छन् ?
स्तनमा नदुख्ने गाँठो आएमा, स्तनको मुन्टाबाट रगत बगेमा, स्तनको मुन्टाभित्र जान थालेमा, छालामा निको नहुने घाउ आएमा, काखीमा गाँठागुँठी आएमा, स्तनको रङ परिवर्तन हुन थालेमा स्तन क्यान्सरको लक्षण देखापरेको बुझ्नुपर्छ । ४० वर्षमाथिका महिलाले वर्षमा एकपटक स्तनको गिर्खा जाँच गर्नुपर्छ । स्तनको अल्ट्रासाउन्ड, बायोप्सी, सिटिस्क्यान, एमआरआई, पिइटी स्क्यान, छातीको एक्सरे आदि परीक्षण गरे पनि यो रोग पत्ता लगाउन सकिन्छ ।
आङ खस्ने समस्या भनेको के हो ?
आङ खस्ने समस्या भन्नाले महिलाको पाठेघर जहाँ हुनुपर्ने हो त्यो नभइ तल खसेको अवस्थालाई बुझाउँछ । यो समस्या भएका महिलाको तल्लो पेट हेर्दा पाठेघर बाहिरै देखिन्छ । ग्रामीण भेगका महिलाहरू सुत्केरी हुँदा वा अन्य बेला पनि गरुङ्गों भारी बोक्नुपर्ने वाध्यतामा हुन्छन् । पहाडमा तलमाथि धेरै गर्नुपर्छ । बच्चाहरू पनि धेरै जन्माउँछन् । ८–१० जना बच्चा जन्माएका महिला पनि देखिन्छन् । कमजोर शरीर भएका बेला महिलाको पाठेघर तल खस्छ, त्यसैलाई नै आङ खस्ने समस्या भनिन्छ ।
महिलाले आफ्नो स्वास्थ्यमा कसरी सचेत हुनुपर्र्र्छ ?
स्वस्थ्य जीवन जिउनका लागि महिलाले शारीरिक सरसफाइमै पर्याप्त ध्यान दिनु पर्छ । महिनावारीको समयमा प्याड प्रयोग गर्ने, यौन सम्पर्कका बेला परिवार नियोजनका साधानहरूको उचित प्रयोग गर्ने हो भने पनि स्वस्थ्य रहन सकिन्छ । पछिल्लो समय अनिच्छित गर्भाधानको अनुपात बढ्दै गएको देखिएको छ । असुरक्षित यौन सम्पर्क गर्ने, अनिच्छित गर्भाधानका कारण गर्भपतन गराउनु पर्ने जस्ता कारणले महिलाको पाठेघरमा संक्रमण देखिन सक्छ । त्यसैले स्वस्थ्य रहन शरीरको सफाइसहित सतर्कता अपनाउनुपर्छ । पोषणयुक्त खानेकुरा खाने, उमेर अनुसारको शारीरिक बनोटमा ध्यान पु¥याउन सके पनि स्वस्थ्य जीवन शैलीमा हिँड्न सकिन्छ । मोटोपन धेरै भयो भने पनि रोग लाग्ने खतरा बढी हुन्छ । पाठेघरको ट्युमर धेरै मोटोपना कै कारण हुने गर्दछ । महिलाले यौनाङ्ग सफा गरिराख्नुपर्छ । एउटै हातले यौनी र मलद्वार धुनु हुँदैन । भित्री वस्त्रहरू चिसो र फोहोर लगाउनु हुँदैन, यसले संक्रमण गराउँछ ।
एक जनाभन्दा बढीसँग यौन सम्पर्क नराख्ने, कन्डमको उचित प्रयोग गर्ने, असुरक्षित यौन सम्पर्क नगर्ने, यौनरोगको शंका लाग्नासाथ तुरुन्तै डाक्टर कहाँ जाने गर्दा स्वस्थ्य हुन सकिन्छ ।
महिनावारीपछि के कस्ता समस्या देखिन्छन् ?
१० वर्ष देखि १२ वर्षसम्मको उमेरमा महिनावारी (मिन्स्टरेशन) हुनु ठिकै मानिन्छ । महिनावारी मिन्स्टुरेशन हुने वित्तिकै किशोरीहरूमा गर्भ रहने संभावना धेरै कम हुन्छ । पाठेघरमा अण्डा बन्ने क्रम ८ वर्ष देखि १२ वर्षको उमेर समूहका किशोरीहरूमा हुँदैन । १२ वर्ष उमेर काटेपछि मात्रै अण्डा बन्ने क्रम सुरु हुन्छ । महिनावारीमा कसैको धेरै रगत बग्ने हुन्छ, यसले रक्तअल्पता हुने खतरा रहन्छ । यहीबेलामा खाना नखाइदिने, स्कुलको समय नमिल्ने समस्या छ । खाना पर्याप्त नखाँदा रक्तअल्पता देखिने हुन्छ । १० देखि १८ वर्षको उमेरमा महिलामा धेरै समस्या आउन सक्छ । महिनावारीको समयमा धेरैलाई हुने समस्या भनेको रक्तश्राव बढी हुने र महिनावारी गडबढी हुने हो ।
युवा पुस्तालाई यौन शिक्षा कत्तिको आवश्यता पर्छ ?
युवा÷युवतीलाई यौनका बारेमा पर्याप्त जानकारी दिनुपर्छ । समयमै यौन शिक्षा दिन सक्यो भने अनिच्छित गर्भाधान रोक्न सकिन्छ । यौन सम्पर्क गर्दा पनि परिवार नियोजनका साधानको प्रयोगमा ध्यान दिन सके पनि यौन रोगहरू लाग्नबाट बच्च सकिन्छ भन्नेबारे जानकारी दिनुपर्छ । कण्डमको प्रयोग यौन रोग लाग्नबाट बचाउने उपाय हो भन्ने बारे सचेत गराउनु पर्ने देखिन्छ । किशोरावस्थामा गर्भाधारण भयो भने समस्या आउँछ । अनिच्छित गर्भाधारण लागि गर्भपतनको सुविधा त छ तर गर्भपतन गराउँदा धेरै खालका जटिलता देखा पर्न सक्छन् । त्यसैले ‘प्रिभेन्सन इज अलवेज बेटर’ भन्ने हिसाबमा हिँड्न सिकाउनु पर्छ । किशोरीहरूलाई म के सुझाव दिन्छु भने यौन सम्पर्क राख्नु नै प¥यो भने कण्डम प्रयोगलाई ध्यान दिनुहोस् । त्यसैले सरोकारवाला निकायबाट किशोर किशोरीलाई यौन शिक्षाका बारेमा पर्याप्त जानकारी दिनेतर्फ कदम चाल्नु पर्ने देखिन्छ ।
गर्भपतन कस्तो अवस्थामा गर्न सकिन्छ ?
पहिलो १२ साता (३ महिना) सम्मको गर्भधानमा गर्भपतन गर्न सकिने नेपाल सरकारको कानुनले अनुमति दिएको छ । त्यति बेला पनि गर्भपतनसम्बन्धि अन्तिम निर्णय लिने अधिकार आमालाई नै दिएको छ । बच्चा राख्ने÷नराख्ने निर्णय आमाको हुनुपर्छ । आमाले अहिलेको अवस्थामा मलाई बच्चा चाहिँदैन भनिन् भने कानुनत गर्भपन गर्न पाइन्छ । ३ महिना नाघि सकेपछि आमा वा गर्भमा रहेको शिुशुको स्वास्थ्य अवस्था हेरेर गर्भपतन गराउन सकिन्छ । आमामा कुनै खालको मुटु रोग छ, बच्चा जन्माउन नसक्ने अवस्था छ, गर्भको शिशुमा जटिल खालका कुनै समस्या देखिएको छ भने अथवा बलात्कारका कारण बच्चा पेटमा आएको अवस्था हो भने गर्भपतन गराउन सकिन्छ । म पहिलो तीन महिनामा गरिने गर्भपनको पनि विपक्षमा छु ।
सुमेरु अस्पतालमा स्त्री रोगसम्बन्धी के कस्ता सुविधा छन् ?
सुमेरुमा स्त्री रोग सम्बन्धी सबै सेवा उपलब्ध छ । नर्मल तथा सिजरियन प्रसुति दुबै खालका सेवा हामीले दिइरहेका छौं । शिशु उपचारका लागि नर्सरी उपलव्ध छ । पाठेघर झिक्ने शल्यक्रिया पनि भइरहेको छ । पाठेघरको ट्युमर सर्जरी पनि हामी कहाँ सेवा छ । पहिलो ३ महिनासम्मको गर्भपतन सेवा पनि उपलव्ध छ । भर्खर हामीले ल्याप्रोस्कोपी सेवा पनि सुरु गरेका छौं । सुमेरु भित्र प्रवेश गरिसकेपछि मैले यहाँ उपचार गराउन पाइन भनेर अन्यत्र जानु पर्ने अवस्था छैन ।
विद्यालय शिक्षादेखि एमडीसम्मको यात्रा कस्तो रह्यो ?
मेरो जन्म भारतको मध्यप्रदेशमा भएको हो । मेरो बुवा सर्जन डा. कमलकान्त चतुर्वेदी भारतमै बस्नुहुन्छ । परिवारको म पहिलो सन्तान हुँ । मैले छात्रवृत्तिमा एमबीबीएस पढेको हुँ । मेरो श्रीमान् नेफ्रोलोजिस्ट निरज सिंह नेपाली हुनुहुन्छ । म्याङलोरस्थित मणिपाल अस्पतालमा इन्टर्न गर्दा हाम्रो भेट भएको हो । उहाँसँग भेट भएपछि बिहे भयो । दुबै जनाले भारतको म्याङलोरमै एमडी गरेका हौं । विवाहपछि पनि म २–३ वर्ष भारतमै बसें । नेपाल आएको सात वर्ष भयो । मेरो श्रीमान्ले नेपाल मेडिकल कलेज (एनएमसी) बाट डीएम गर्नु भएको छ । १० वर्षको छोरासहित मेरो परिवार नखिपोटमा बसिरहेको छ । मेरो ससुरा फिजिसियन डा।विजयकुमार सिंह जनकपुरमा बस्नु हुन्छ । गाइनेमा डीएम हुँदैन त्यसैले डीएमको योजना छैन । फेलोसिप पाइने हुनाले त्यो योजना छ । नेपालमा उपलव्ध उपचार विधि र भारतमा उपलब्ध उपचार विधिमा रोग अनुसार फरक–फरक छन् तर गाइनेसँग सम्बन्धित रोगको उपचार विधिमा फरक छैन ।