काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता सुवासचन्द्र नेम्वाङले पार्टी विवादलाई लिएर अब यसै भन्न नसकिने अवस्था रहेको बताइसकेका छन् । उनको समन्वयमा दुईपटक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता भएपनि कुरा मिल्न सकेन । जेरी खाँदै भएको जनैपूर्णिमाको दिनको वार्ताले पनि कुनै निकास निकालेन । नेम्वाङ आफै अब पार्टी फुटबाट जोगिन मुश्किल भइसकेको बताइरहेका छन् । ओली राजीनामा नदिने र प्रचण्ड राजीनामा गराएरै छाड्ने अडानमा चलेपछि नेकपा दुर्घटनाको नजिक पुगेको छ । त्यसैले नेताहरु आ—आफ्नो तयारीमा जुटेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीलाई अब फुटबाट जोगाउन चमत्कारै हुनुपर्ने अवस्था बनिसकेको छ । फुटको खतरा देखेरै ६१ सांसदले एकताको पक्षमा हस्ताक्षर गरेर दबाब सृजना गरेका हुन् । तर, तीमध्ये अधिकांश प्रचण्ड र माधव नेपाल निकट भएकाले ओली पक्ष झस्किएको छ । यसलाई ओलीइतर समूहको शक्ति प्रदर्शन पनि ठानिएको छ । नेकपाभित्र नेता कार्यकर्तासम्म आफ्नो राजनीतिक भविष्यमा सोच्न थालिसकेका छन् । कार्यकर्ता तहसम्म कित्ताकाट हुन थालेको छ ।
अब लगभग पार्टी फुट्ने भयो भनेर नेताहरु आ–आफ्नो रणनीतिमा लागिरहेका छन् । सचिवालयमा रहेका देखि स्थायी कमिटीमा रहेका र सांसदहरुको आफ्नै तयारी छ । उनीहरु पनि उपगुट बनाएर बार्गेनिङ शक्ति बढाउन उद्धत भइसकेका छन् । दोस्रो पुस्ताका नेताहरु टोपबहादुर रायमाझी, योगेश भट्टराई, घनश्याम भुषाल, मणि थापालगायतको टोली आफ्नै दाउमा छन् । यसरी नेताहरुको तह तहमा दाउपेच चलिरहेकोछ ।
सचिवालयमा ओलीले लगभग बहुमत बनाइसकेका छन् । उनले बामदेव गौतम र रामबहादुर थापा बादललाई साथमा ल्याएर नौ सदस्यीय सचिवालयमा आफूसहित पाँचजना बनाउन सफल भएका छन् । त्यसैले टुंगो सचिवालयबाट लगाउनुपर्ने भनिरहेका छन् । स्थायी कमिटी र केन्द्रीय कमिटीमा ओली विरोधीको बहुमत छ । प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल ओलीको राजीनामाको पक्षमा उभिएका छन् । उनीहरुसँग पार्टी कमिटीमा बहुमत छ । तर, संसदमा ओली पक्षकै बहुमत रहेको हिसाबकिताब निकालिएको छ । नेकपाभित्र पार्टी र संसदीय दलसम्म अंकगणितको खेल हुन लागेको छ । यसका पछाडि पार्टी फुट्ने सम्भावना र त्यतिबेला सुर्य चिन्ह कस्ले पाउने भन्ने पनि रहेको छ ।
नेकपामा प्रतिनिधिसभाका १७४ र राष्ट्रियसभाका ५० गरी कुल २२४ सांसद छन् । ओली र प्रचण्ड दुवै पक्षले आफूसँग बहुमत रहेको दाबी गर्दै आएका छन् । ओली पक्षले सांसद संख्या अधिक रहेको रिपोर्ट निकालेको छ । प्रतिनिधिसभामा कम्तिमा ९० र राष्ट्रियसभामा ३० गरी एक सय २० रहेको निष्कर्ष निकालेको छ । प्रचण्ड पक्षको कम्तिमा १० र माधव पक्षका त्यति नै संख्याका सांसद आफ्नो पक्षमा आएको ओली पक्षको निष्कर्षपछि पार्टी फुट्ने अवस्थामा रणनीति बनाइएको बुझिएको छ ।
राजनीतिक दलसम्बन्धी ऐन र संविधानले पनि नेकपा फुट्न अध्यादेश वा विधयेक ल्याउनुपर्ने हुन्छ । संसद नभएकाले विधयेक ल्याउन सम्भव छैन । अध्यादेश प्रधानमन्त्री भएकाले ओलीले मात्र ल्याउन सक्छन् । पार्टी फुटिहालेमा पूर्व एमालेलाई आफ्नै पक्षमा पार्ने गरी ओलीको तयारी रहेको छ । पूर्व माओवादीलाई अलग्याउने त्यो पनि केही नेता र सांसद साथमै राखेर । त्यस्तै तयारी समेत भएको बुझिएको छ । अध्यादेश ल्याउँदा जुन पक्षधरमा बढी सांसद संख्या हुन्छ उसैले पुरानै चुनाव चिन्ह र झण्डा पाउने र संस्थापन पक्ष हुने गरी व्यवस्था गर्ने तयारी समेत भएको छ । २२४ कुल सांसदमध्ये ओली पक्षले आफूसँग बहुमत सांसद संख्या रहेको निष्कर्ष निकालेर यस्तो गरी गरेको हो । यसमा ओली पक्षको रणनीतिक चार्तुयता देखिन्छ ।
ओलीले बामदेवलाई पार्टी फुटेमा अध्यक्ष बनाउने प्रस्ताव गरिसकेका छन् । बामदेव त्यसैले ओलीलाई खुशी बनाउने गरी छ बुँदे एकताको प्रस्ताव लिएर बसेका छन् । प्रस्ताव ओलीकै इच्छामुताबिक आएको चर्चा छ । त्यसको सन्देश दिन ओली बामदेव निवास भैंसेपाटी पुगेका थिए । सुर्य चिन्ह आफ्नै पक्षमा हुने भएपछि माधव नेपाल र झलनाथ खनाल पनि प्रचण्ड पक्षमा जाँदैनन् भन्ने बुझाई ओली पक्षधरको रहेको छ । ओली पक्षको सबै शक्ति पार्टी फुटेमा सुर्य चिन्ह लिने र बढी सांसद आफ्नो बनाउने रहेको छ । पूर्व एमाले र पूर्व माओवादीका रुपमा कित्ताकाट होस् र त्यसमा पनि पूर्व माओवादीका केही सांसदलाई साथमा लिने रणनीति देखिन्छ ।
फुटबाट जोगाउने अन्तिम विकल्प
नेकपा फुटको नजिक छ तर फुटिहालेको छैन । फुटको संघारमा रहेकाले जोगाउने हरसम्भव प्रयासमा केही नेताहरु लागेका छन् । बामदेवले प्रस्तुत गरेको छ बुँदे प्रस्तावमा कुरा मिलाउने प्रयास समेत भएको छ । प्रस्तावलाई परिष्कृत गरी जानसकिने प्रचण्ड पक्षको केही नेताको भनाई रहेको छ । एक व्यक्ति एक पदमा माधव नेपालको अडान छ । उनी कुनै हालतमा ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा गराउने पक्षमा छन् । नसकेमा अध्यक्षबाट भएपनि हटाउनुपर्ने पक्षमा छन् । कुनै मिलन बिन्दु निस्कन्छ कि भनेर लाग्नेहरु पनि छन् ।
प्रचण्ड पार्टीको आन्तरिक झमेलामा एकल अध्यक्ष बन्न चाहिरहेका छन् । महाधिवेशनको टुंगो छैन । त्यसमाथि पूर्व एमालेले एकता महाधिवेशनमा आफूलाई अध्यक्ष स्वीकार गर्लान् भन्ने विश्वास गर्न छाडिसकेका छन् । त्यसैले प्रचण्ड कुनै हालतमा एक व्यक्ति एक पदको मुद्दामा अडिग रहेर पार्टीको जिम्मेवारी आफ्नै हातमा लिन चाहिरहेका छन् । त्यसैले नेकपाको विभाजन टार्न कि त ओलीले राजीनामा दिनुपर्ने हुन्छ कि त अध्यक्ष पद छाडी प्रचण्डलाई पार्टीको सम्पूर्ण अधिकार हस्तान्तरण गर्नुपर्ने हुन्छ । यो दुवै सम्भव होला जस्तो देखिएको छैन । त्यसैले नेकपाभित्र सांसद बढी आफ्नो साथमा लिने र सत्ता टिकाउने र ढलाउने खेल बढेको छ ।