काठमाडौँ – राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक दलहरुले चुनावमा गरेका घोषणा र प्रतिबद्धताहरुको पूर्ण पालना नगर्दा नागरिकहरु निरास भएको बताएका छन्।बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले चुनावमा दलहरुले जारी गरेका घोषणापत्र र उम्मेदवारहरुले गरेको प्रतिबद्धताहरु पूरा नहुँदा नागरिकहरु राजनीतिप्रति असन्तुष्ट रहेको बताएका हुन्।
उनले बोलेको कुरा पूरा नगर्दा समाजमा समस्या पैदा भएको बताए। सत्तामा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्कै कुरा बोल्ने परिपाटी अन्त्य हुनुपर्नेमा उनले जोड दिए।
उनले भने, ‘चुनावमा घोषणा पत्र दलहरुले जारी गर्दछन्, उम्मेदवारहरुले विकास, समृद्धि, सुशासन, न्याय आदि इत्यादी मत माग्दा भाषण गर्ने गर्छौं। जे बोल्छौँ, त्यो गरिदिए हुन्छ। यहाँ त जे बोल्छौँ त्यो नगर्ने कुरा भएको हुँदा बिग्रिएको छ।’अध्यक्ष तिमिल्सिनाले आम नागरिकको दैनिकीसँग जोडिने विषयवस्तुमा सरकारले विशेष ध्यान दिइ कामकारबाही गर्न आवश्यक रहेको बताए।