काठमाडौं । भारत र अस्ट्रेलियाबीचको पाँच खेलको टी-२० सिरिजको तेस्रो खेल आज राति ७:१५ मा सुरु हुँदैछ। जारी सिरिजमा लगातार सुरुवाती दुई खेल जितेको भारत लगातार तेस्रो खेल जित्दै सिरिज कब्जा गर्ने ध्याउनमा मैदान उत्रिँदा अस्ट्रेलिया भने पुनरागमनको प्रयासमा मैदानमा उत्रने छ।भारतले आजको खेल जितेमा अस्ट्रेलियाविरुद्धको लगातार तेस्रो टी-२० सिरिज जित्ने छ। भारतीय टोलीले अस्ट्रेलियाविरुद्ध खेलेका पछिल्ला दुवै टी-२० सिरिज जितेको छ। २०२० र २०२२ मा भारतले अस्ट्रेलियालाई हराएको थियो।
भारतले २३ नोभेम्बरमा विशाखापट्टनममा भएको पहिलो खेलमा पाहुँना टोलीलाई २ विकेटले हराउँदा २६ नोभेम्बरमा भएको दोस्रो खेलमा ४४ रनले पराजित गरेको थियो। आयोजक भारत र कंगारु टोलीबीच टी-२० ढाँचामा हालसम्म १० वटा सिरिज खेलिएको छ। जसमा भारतले ५ र अष्ट्रेलियाले २ खेलमा जित हासिल गरेका छन्।
आजको खेलमा भारतीय कप्तान सूर्यकुमार यादवलाई टी-२० अन्तर्राष्ट्रियमा २००० रन पूरा गर्ने अवसर रहने छ। उनी २ हजार रनको मायल स्टोनबाट केवल ६० रन मात्र टाढा छन्। यदी उनले २ हजार रन पूरा गरे उनी यस्तो गर्ने चौँथो भारतीय ब्याटर बन्नेछन्।
अस्ट्रेलिया आफूलाई सिरिजमा कायम राख्न जित्नै पर्ने दबाबमा छ। विश्वकप टोलीमा रहेका स्टिभ स्मिथ, ग्लेन म्याक्सवेल, मार्कस स्टोइनिस र एडम जाम्पा जस्ता खेलाडीहरू लगातारको खेलले थकित रहँदा भारत त्यसको फाइदा उठाउने धुनमा छ।
गुवाहाटीको बरसापारा क्रिकेट मैदानको पिच ब्याटिङ मैत्री मानिन्छ। यहाँ कुल ३ टी-२० अन्तर्राष्ट्रिय खेल खेलिएका छन्। जहाँ पहिले र पछि ब्याटिङ गर्ने टोलीले समान एक-एक खेल जितेको छन्। एक खेल नतिजाविहीन भएको छ। यस मैदानमा उच्चतम स्कोर २३७ रन हो, जुन भारतले २०२२ मा दक्षिण अफ्रिकाविरुद्ध बनाएको थियो।
२०१७ मा अस्ट्रेलियाविरुद्ध भारतले बनाएको सबैभन्दा कम स्कोर पनि यही मैदानमा हो।यो मैदानमा भारत र अस्ट्रेलिया दोस्रो पटक टी-२० मा प्रतिस्पर्धा गर्दैछन्। यसअघि २०१७ मा उनीहरु भिड्दा अस्ट्रेलिया ८ विकेटले विजयी भएको थियो।