काठमाडौं । मोरङ- कोसी प्रदेशको प्रदेशसभा बैठकमा शनिबार बजेट प्रतिस्थापन विधेयक पेश हुँदैछ।आज दिउँसो १ बजे बस्ने बैठकमा कोसी प्रदेश विनियोजन अध्यादेश, २०८० लाई प्रतिस्थापन गर्न बनेको विधेयक पेश हुने भएको हो।प्रदेशसभाका सचिव गोपाल पराजुलीले कोसी प्रदेश आर्थिक अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको विधेयक र कोसी प्रदेश विनियोजन अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको विधेयक टेबुल हुने जानकारी दिए।प्रदेश सभा सचिव पराजुलीका अनुसार कोसी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८० र आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यको लागि प्रदेश संचित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमाव्यवस्था गर्न बनेको विधेयक २०८० लाई प्रस्तावका रुप प्रदेश सभा बैठकमा पेश हुने हो।
त्यसैगरी, बैठकमा मुख्यमन्त्री केदार कार्कीले स्थानीय सेवाको गठन सञ्चालन र सेवाका शर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथिको सैद्धान्तिक छलफलमा प्रदेश सांसदहरूले उठाएका जिज्ञासा र प्रश्नको जवाफ दिने कार्यतालिका रहेको प्रदेशसभाका सचिव पराजुलीले बताए ।यसअघि, जेठ ३२ गते नेकपा एमालेतर्फबाट मुख्यमन्त्री भएका हिक्मतकुमार कार्कीले अध्यादेशबाट बजेट ल्याएका थिए। सो बजेट ३६ अर्व २४ करोड ३५ लाख १० हजारको रहेको छ।प्रदेश सरकारले हाल पहिलो चौमासिकमा चालूतर्फ ३ अर्ब ५७ करोड ८२ लाख १३ हजार खर्च गरेको छ। जुन १९ दशमलव ८७ प्रतिशत रहेको छ। त्यसैगरी, पूँजीगततर्फ हालसम्म १ अर्ब ३७ करोड ५५ लाख रुपैया खर्च गरेको छ। जुन ७ दशलमव ५४ प्रतिशत हो।