विमला वली माओवादीमा प्रवेश, शंकर पोखरेलको योजना तुहियो

15.9k Shares

काठमाडौं । लुम्बिनी प्रदेश सांसद विमला वली माओवादीमा प्रवेश गरेपछि शंकर पोखरेलको योजना तुहिएको छ । 
लुम्बिनी प्रदेश सभा ८१ सदस्यीय हुँदा बिमला वली माओवादी केन्द्रमा प्रवेश गरेपछि अब सत्तारूढ एमालेसँग ४० सांसद मात्र छन् । संविधानको धारा १६८(१)  अनुसार बहुमतको सरकार बनाउन ४१ सांसद चाहिन्छ । प्रदेश सभामा नेपाली काँग्रेसका १९, माओवादी केन्द्र सभामुखसहित १८, जसपाका दुई र राष्ट्रिय जनमोर्चासँग एक सांसद थिए । वली माओवादीमा प्रवेश गरेपछि विपक्षी गठबन्धनसँग अब सभामुखसहित ४१ सांसद पुगेको छ ।
दाङबाट प्रदेशसभा ३ (ख)बाट वलीले नेकपाका तर्फबाट उपचुनाव जितेकी थिइन् । नेपाली कांग्रेसका उम्मेदवार केशवराज शर्मा आचार्यलाई ५ हजार १ सय ४ मतअन्तरले पराजित गर्दै उनी प्रदेशसभा सदस्यमा विजयी भएकी थिइन् । माओवादी र एमाले विभाजित भएपछि उनी कता लाग्ने टुंगो नलाग्दै एमालेले उनलाई समेत जोडेर आफ्नो पक्षमा ४१ सांसद रहेको बताएको थियो । 
तर वलीले माओवादी कित्तामा जाने निर्णय गरेपछि मुख्यमन्त्री पोखरेलले बहुमत गुम्ने ठहर गर्दै राजीनामा दिएको बुझिएको छ । यसैबीच माओवादीले विमला वली पार्टीमा प्रवेश गरेको औपचारिक जानकारी प्रदेश सभालाई जानकारी गराइसकेको एक नेताले बताए । 
वली स्वर्गीय प्रदेशसभा सदस्य उत्तरकुमार वलीकी पत्नी हुन् । सवारी दुर्घटनामा उनको निधन भएपछि भएको उपनिर्वाचनमा वली विजयी भएकी थिइन् । आफूले नेकपाबाट चुनाव जितेको तर हाल नेकपा नरहेकाले माओवादी केन्द्रतिर लागेको वलीले बताइन् । 

सम्बन्धित समाचार