जाजरकोट- जाजरकोट बारेकोट गाउँपालिका–१ रामीडाँडा आसपास केन्द्रविन्दु बनाएर गत कात्तिक १७ गते राति गएको भूकम्पबाट कर्णाली प्रदेशका ५४ प्रहरी कार्यालयमा क्षति पुगेको छ ।
जिल्ला प्रहरी कार्यालयदेखि अस्थायी प्रहरीचौकीसम्म भूकम्पले क्षति बनाएको कर्णाली प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । प्रहरी कार्यालयमा क्षति पुगेसँगै प्रहरी त्रिपालको सहारामा काम गर्न बाध्य भएका छन् ।
प्रहरी नायव महानिरीक्षक ढकालका अनुसार जाजरकोटमा ३३, रुकुम पश्चिममा १२, सल्यानमा तीन, जुम्लामा चार र कालीकोटमा दुई प्रहरी भवनमा क्षति पुगेको छ । जाजरकोटमा जिल्ला प्रहरी कार्यालयका चार भवन भत्किएका छन् । बाह्र इलाका प्रहरी कार्यालय, १० प्रहरी चौकी, ६ अस्थायी प्रहरी पोस्ट र जिल्ला ट्राफिक कार्यालय भूकम्पबाट भत्किएको छ ।
रुकुम पश्चिम जिल्ला प्रहरी कार्यालय, दुई इलाका प्रहरी कार्यालय, चार प्रहरी चौकी र पाँच अस्थायी प्रहरी पोस्ट भत्किएका छन् । त्यस्तै सल्यानमा तीन इलाका प्रहरी कार्यालय भत्किएका छन् । जुम्लामा जिल्ला प्रहरी कार्यालय, एउटा इलाका प्रहरी कार्यालय र दुई प्रहरी चौकी भत्किएको छ । कालीकोटमा जिल्ला प्रहरी कार्यालय र एउटा प्रहरी चौकी भत्किएको छ ।
भाडाको घरमा रहेको जाजरकोट भेरी नगरपालिका–१ अस्थायी प्रहरी पोस्ट, रावतगाउँ चर्किएको छ । त्यहाँका प्रहरी अहिले त्रिपालको भरमा दैनिक कामकाज गरिरहेका छन् । सदरमुकाम खलंगामा रहेको जिल्ला प्रहरी कार्यालयको हालत पनि अन्य प्रहरीचौकीभन्दा फरक छैन । जिल्ला प्रहरी कार्यालय प्रहरी जवान त्रिपालको भरमा छन् ।