गण्डकीमा तीन सांसदलाई कोरोना

17.1k Shares

पोखरा । पीसीआर परीक्षणको माग गर्दै गण्डकी प्रदेशसभा बैठक अवरुद्ध गर्नेसहित तीन सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
मंगलबारको बैठकमा कोरोना संक्रमणको जोखिम रहेका कारण अनिवार्य पीसीआर परीक्षण गरिनुपर्ने माग गरेका सांसद राजीव पहारीसहित प्रभा कोइराला र मनकुमारी गुरुङलाई संक्रमण पुष्टि भएको हो । सत्तारुढ दल नेकपा (एमाले)को अवरोधका कारण मंगलबारको प्रदेशसभा बैठक स्थगित गरिएको थियो ।
पीसीआर परीक्षणको माग गरिएपछि मंगलबार नै सबै प्रदेशसभा सदस्यको स्वाब संकलन गरिएको थियो । यद्यपि, प्रदेश स्वास्थ्य निर्देशनालयले भने यसबारे जानकारी दिइसकेको छैन ।
स्रोतका अनुसार तीन सांसदलाई कोरोना पुष्टि भएको हो । प्रदेशसभा सचिवालयकै एक कर्मचारीमा समेत संक्रमण पुष्टि भएको छ ।
कोरोना पोजिटिभ देखिएका सांसदले सदनमा बोल्न नपाउने तर अविश्वासको प्रस्तावमा मत हाल्न पाउने गरी कार्यव्यवस्था परामर्श समितिले निर्णय गरेको छ । गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।

सम्बन्धित समाचार