थाई एयरले पुनः थाल्यो काठमाडौँ–ब्याङ्कक उडान

18k Shares
काठमाडौँ, १२ कात्तिक : थाइल्याण्डको राष्ट्रिय ध्वजावाहक थाई एयरवेज इन्टरनेसनलले आजदेखि काठमाडौँ–ब्याङ्कक उडान पुनः सुरु गरेको छ ।
कोभिड–१९ का कारण काठमाडौँको उडान बन्द गरेको कम्पनीले पुनः उडान सुरु गरेको हो । कम्पनीले कोभिडका कारण २५ मार्च २०२० देखि काठमाडौँ गन्तव्यको उडान बन्द गरेको थियो ।
 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार थाई एयरवेजले आजदेखि उडान पुनःसुरु गरेको छ । यसअघि थाइल्याण्डको आन्तरिक उडानमा रहेको थाई स्माइलले गर्दै आएको काठमाडौँ उडान आजैदेखि बन्द भएको छ । थाई स्माइल थाइल्याण्डको आन्तरिक उडानमा थियो ।  
 
थाई एयरवेजले सन् १९६८ को डिसेम्बरमा नेपालमा पहिलो पटक उडान सञ्चालन गरेको थियो । कम्पनीले नेपालको उड्डयन इतिहासमा लामो सयम उडान गरेको छ । कोभिडपछि अन्तर्राष्ट्रिय उडान पुरानै लयमा फर्किएको विमानस्थल कार्यालयले जनाएको छ । गत असोज ३० गते हालसम्मकै सर्वाधिक उडान दुईतर्फी एक सय १३ उडान भएको थियो । कात्तिकको पहिलो साता एक सय १० हाराहारी उडान भएको थियो ।
 
‘विन्टर सिजन’ अन्तर्राष्ट्रिय उडानको बढी माग आएको र एयर ट्राफिक व्यवस्थापनलाई मिलाएर उडान सहजीकरण गरिने विमानस्थलका महाप्रबन्धक तिवारीले बताउनुभयो । नेपालमा तीन नेपालीसहित ३० वायुसेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।
सम्बन्धित समाचार