तल्लो सेती जलविद्युत् आयोजना : लगानीका लागि सहजीकरण गरिदिन पत्राचार

19.7k Shares

दमौली, ९ कात्तिक ः तनहुँमा निर्माण हुने तल्लो सेती जलविद्युत् आयोजनाका लागि लगानीमा सहजीकरण गरिदिन पत्राचार गरिएको छ । तनहुँ हाइड्रोपावर लिमिटेडले नेपाल विद्युत् प्राधिकरणमार्फत् आयोजनामा लगानी व्यवस्थापनका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)सँग सहजीकरण गरिदिन अनुरोध गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई पत्राचार गरिइएको हो । 

एकसय चालीस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको सो हाइड्रोपावर लिमिटेडले १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजना निर्माणका लागि प्रक्रिया सुरुआत गरेको छ । कम्पनीले निर्माण गर्न लागेको तल्लो सेती (तनहुँ) जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) अध्ययन प्रतिवेदन गत असोज २ गते विद्युत् विकास विभागमा बुझाएको लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

तल्लो सेती जलविद्युत् आयोजनामा जाइका र एसियाली विकास बैंक (एडिबी) ले चासो देखाएको बताइएको छ । प्रबन्ध सञ्चालक श्रेष्ठका अनुसार दुई वर्षभित्र तल्लो सेती जलविद्युत् आयोजना निर्माणको चरणमा जानेछ । उक्त आयोजनाको लागत रु २५ अर्ब अनुमान गरिएको छ । तनहुँ जलविद्युत् आयोजनाको एक सय ४० मिटर अग्लो कङ्क्रिट बाँधबाट प्राप्त हुने सेती नदीको रेगुलेटेड प्रवाह तथा मादी नदीको थप प्रवाहसमेत प्रयोग गर्न तल्लो तटीय क्षेत्रमा तल्लो सेती जलविद्युत् आयोजना निर्माण गर्न लागिएको उहाँको भनाइ छ । 

आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार विसं २०८१ मा बोलपत्र आह्वानको तयारी गरिएको छ । तल्लो सेती जलविद्युत् आयोजना निर्माणका लागि विस्तृत अध्ययन सकिएको छ । आयोजनाले विज्ञ समूह नियुक्त गरी काम अगाडि बढाएको थियो । परामर्शदाताले पेस गरेको विस्तृत नमूना प्रतिवेदन पुनरावलोकनका लागि नियुक्त तीन सदस्यीय अन्तर्राष्ट्रिय विज्ञ समूहले विसं २०७८ असार २३ गते नमूना पुनरावलोकन प्रतिवेदन बुझाइसकेको छ । विज्ञ समूहले पेस गरेको आयोजनाको नमूना अनुुसार थप केही काम गर्ने तयारी गरिएको छ । 

“विज्ञ समूहले सुझाव दिएअनुसार केही काम अगाडि बढाउन खोजिएको छ, वातावरणीय प्रारम्भिक मूल्याङ्कनको काम पनि सकिएको छ,” आयोजना प्रमुख भण्डारीले भन्नुभयो । आगामी आर्थिक वर्षमा उक्त क्षेत्रमा केही पूर्वाधार निर्माणको काम सुरु हुनेछ । भवन बनाउने, बाटो बनाउने, पुल बनाउने काम आगामी आर्थिक वर्षमा नै सुरु गर्ने तयारी गरिएको उहाँले बताउनुभयो । 

कम्पनीले आयोजनाको विद्युत् उत्पादनको सर्वेक्षण अनुमति प्राप्त गरिसकेको छ । साथै दातृ निकाय एडिबीबाट प्राप्त करिब ३.५ मिलियन अमेरिकी डलर अनुदान सहयोगबाट आयोजनाको विस्तृत इञ्जिनियरिङ डिजाइन तथा बोलपत्रसम्बन्धी कागजपत्र तयार गर्ने परामर्श सेवा खरिदका लागि वाप्कोस भारत÷निप्पन कोई जापान जेभिसँग विसं २०७५ चैत २९ गते खरिद सम्झौता भएको थियो । रासस 

सम्बन्धित समाचार