घुमुवा तस्करसँग मिलेमतो गर्न थालेपछि चोरी तस्करी बढ्यो

19.8k Shares

कैलाली ।  कैलालीका सीमा नाकाबाट हुने चोरी तस्करी मौलाएको छ । धनगढी उपमहानगरपालिकाको बंग्रा कटान नाकामा सुरक्षाकर्मीको मिलेमतोमा रातिको समयमा चोरी तस्करी भइरहेको स्थानीय बताउँछन् । बंग्रा कटानमा रहेको सशस्त्र प्रहरीको बिओपी नजिकैबाट व्यापक रुपमा चोरी तस्करी हुँदा समेत सुरक्षा निकाय मौन बस्नुले उनीहरुको मिलेमतो भएको हुनसक्ने आशंका स्थानीयको छ ।  राति १० बजेपछि बंग्रा कटान नाकाबाट अटो रिक्सा र ट्रयाक्टरमा धमाधम सामान ओसारपसार गर्ने काम भइरहेको हुन्छ । त्रिनगर नाकाबाट चोरी तस्करी बढेको छ । सीमा क्षेत्रको सुरक्षा तथा भारतबाट हुने चोरी तस्करी नियन्त्रण गर्ने प्रमुख जिम्मा सशस्त्र प्रहरी बलको हो। सोहीअनुसार कैलालीको सीमा क्षेत्रको १८ वटा स्थानमा बोर्डर आउट पोष्ट बिओपीहरु पनि स्थापना गरिएका छन्। तर ती बिओपीको काम प्रभावकारी देखिएको छैन। भारतको गौरिफन्टा नाकासँग जोडिएको त्रिनगर नाकामा सुरक्षाकर्मीकै अगाडीबाट खुलेआम तस्करी भइरहेको छ । धनगढी, कैलारी, भजनी, टिकापुर लगायतका क्षेत्रबाट उक्त सामान तस्करी भएको हो।चिनी, लुगाकपडा, किराना पसलका सामानदेखि हार्डवेयरका सामानहरु पनि तस्करी भएको देखिन्छ ।
 नेपाल भारत चल्ने सार्वजनिक बसभित्रैबाट सामान तस्करी भइरहँदा नाकामा रहेको सशस्त्र प्रहरी र भन्सार कर्मचारी अनविज्ञ छन् । सुदूरपश्चिमको मुख्यनाका त्रिनगर भन्सारको मुल सडक भएर दैनिक तस्करी बढे पनि सुरक्षा निकाय मौन छन् ।कैलालीको एक सय एक किलोमिटर क्षेत्रफल भारतसँगको खुल्ला सीमासँग जोडिएको छ। पछिल्लो समय अवैध नाका तथा विभिन्न घाटबाट हुने तस्करी बढ्दै गएको धनगढीको जुगेडा सीमा क्षेत्रका स्थानीयले बताए । ‘रातिको १२ बजेपछि तस्करी हुन्छ ।  सशस्त्र प्रहरीको उपस्थिति प्रभावकारी देखिएको छैन । चोरी तस्करी नियन्त्रणको जिम्मेवारी पाएर सीमामै बीओपी खडा गरेर बसेको सशस्त्र प्रहरीले किन अपेक्षाअनुसार काम गर्न सकिरहेको छैन ? कम्तीमा पनि ५–७ किलोमिटरको दूूरीमा स्थापना गरिएका यी बीओपीले चोरी तस्करी नियन्त्रणमा उल्लेखनीय भूूमिका खेल्ने अपेक्षा गरिएको थियो तर कैलालीमा अवैध रुपमा हुने चोरी तस्करी बढ्दो क्रममा छ ।
यतिका सुरक्षाकर्मी र भन्सार कार्यालयका चेकपोस्ट छलेर खुलेयाम अवैध रुपमा तस्करी मौलाएको छ । पछिल्ला केही दिन यता जिल्ला प्रहरी कार्यालय कैलाली सहितको सयुंक्त प्रहरी टोलीले त्रिनगर नाका भएर नेपाल भित्रिँदै गरेको ६३ लाख रुपैयाँ बढीको अवैध सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कैलालीका कुलदीप चन्द बताउनुुहन्छ ।जिल्ला प्रहरी कार्यालय कैलालीले यो आर्थिक वर्षको असोज पहिलो सातासम्म मात्रै १ करोड ६६ लाख बढीको अबैध समान बरामद गरी भन्सार कार्यालयलाई बुझाएको छ ।
 सशस्त्र प्रहरीले ७४ लाख २३ हजार बराबरको अबैध समान बरामद गरी भन्सार दाखिला गरेको छ । नेपाल प्रहरीभन्दा कम राजश्व उठाएको सशस्त्र प्रहरीले सुराकी नभएकै कारण ठुलो परिमाणमा सामान बरामद गर्न नसकेको स्वीकार गरेको छ । मुख्य नाकामा रहेका सुरक्षाकर्मी र भन्सार कर्मचारीहरुकै अगाडी खुलेआम तस्करी भइरहँदा सर्वसाधारणहरुले समेत सशस्त्र प्रहरीप्रति प्रश्न उठाएका छन् । नेपाली सिमामा बोर्डर आउट पोस्ट थप्ने बित्तिक्कै तस्करी नियन्त्रणको नतिजा देखिएपछि पछिल्लो समय फेरी पुरानै किसिमले तस्करी बढेको छ ।कैलालीको १ सय १ किलोमिटर भारतसँगको सीमामा गुल्म तथा बोर्डर आउट पोस्टहरु छन् । जिल्लाको सीमा क्षेत्रमा ७ सय सशस्त्र प्रहरी खटिएका हुन्छन् । सशस्त्र प्रहरीसँगै नेपाल प्रहरीबाट चौकीको नियमित गस्तीका साथै हरेक नाकामा राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी पनि खटाइएका हुन्छन् । तर तस्करी भने भैरहेकै हुन्छ । तस्करी गर्न भारतका तीन जना गुप्ताको समूह सक्रिय छ । उक्त समूहले कैलाली प्रहरीका कनिष्टदेखि वरिष्ठ अधिकृतसम्मलाई ठूलो मात्रामा महिनावारी बुझाउने गरेका छन् । बंग्रा कटान नाकाबाट गुप्ता समूहलाई भारतबाट सामान ल्याउन दिने सहमती भएको छ ।

सम्बन्धित समाचार