अन्तर्राष्ट्रियस्तरमा तेक्वान्दोले पदक ल्याउन दश वर्षपछिको योजना सरकारले बनाउनुपर्छ ः प्रशिक्षक चित्रकार

19.7k Shares

आफ्नो इच्छा, चाहना र माया तेक्वान्दो खेलप्रति भए पनि आफ्नो दैनिक जीवनयापन र परिवारको जिविकोपानर्जनका लागि अन्य पेशा अंगाल्दै आएका तेक्वान्दोका प्रशिक्षक इन्द्रभक्त चित्रकार दैनिक भक्तपुरका तेक्वान्दो खेलाडीहरुलाई प्रशिक्षण दिँदै आइरहेका छन् ।
झण्डै तिन दशक तेक्वान्दो खेलप्रति आवद्ध रही छैठौं डानसमेत हासिल गरिसकेका इन्द्रभक्तले २०४६ सालबाट तेक्वान्दो खेल्न सुरु गरी २०५४ सालबाट निरन्तररुपमा प्रशिक्षण दिँदै आइरहेका छन् । सुरुमा एक्टीभ इङ्लिस स्कुल मध्यपुर ठिमीका विद्यार्थीहरुलाई प्रशिक्षण दिई हाल सानोठिमी तेक्वान्दो डोजाङ प्रमुख तथा प्रशिक्षक रही ३५—४० जनालाई खुल्ला आकास मध्यपुर फुटबल मैदानमा प्रशिक्षण दिँदै आइरहेका छन् ।
भक्तपुर तेक्वान्दो संघमा दुई कार्यकाल सचिव र हाल अध्यक्षको भूमिका निर्वाह गरिरहेका चित्रकारले सरकारसँग प्रशिक्षणको लागि कभर्डहलको माग गरे पनि सरकारले खासै त्यतातर्फ ध्यान नदिएको बताउँछन् ।
चित्रकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्नुका साथै दुई सयभन्दा बढी खेलाडीहरुले ब्ल्याकबेल्ट हासिल गरिसकेका छन् । उनीद्वारा प्रशिक्षट अनिस बैद्य आठौं साफ गेमको क्लोज क्याम्पमा परेको भए पनि पारिवारिक समस्याका कारण नखेलेको उनी बताउँछन् ।
नेपालको नम्बर एकको रुपमा रहेको तेक्वान्दो खेल विकासका लागि राज्यले खासै ध्यान नदिएको गुनासो खोजतलाससँगको कुराकानीमा चित्रकार पोख्छन् । राज्यको वेवास्ताका कारण पनि चित्रकारले आफ्नो स्वास्थ्य, तेक्वान्दो खेलको मायामोहका कारण निरन्तररुपमा यस खेलप्रति नै आवद्ध रहिरहने चित्रकार बताउँछन् ।
अस्वस्थ र घिनलाग्दो राजनीतिका कारण नेपालको खेलकुद क्षेत्र पछाडि परेको उनी बताउँछन् । यदि राज्यले निश्वार्थ रुपमा तेक्वान्दो खेलको विकासका लागि लगानी गर्ने हो भने तेक्वान्दो खेलले विश्वमा नेपाललाई धेरै नै माथि लाने उनी तर्क गर्छन् । नेपालको खेलकुद क्षेत्र हेर्ने कसैले पनि भिजनसहित आएको पाइँदैन, खाली कार्यकर्ता भर्ती केन्द्र र राजनीतिक दवावका कारण गैर खेलाडीलाई मात्र प्रश्रय दिएका कारण राम्रा, सक्षम र इमान्दार खेलाडीहरु विदेशिन बाध्य भएको उनी बताउँछन् ।
तेक्वान्दो खेलमा नेपालभन्दा पछाडि रहेका देशहरुले अहिले नेपाललाई पछाडि पारिसकेका छन् । नेपालभन्दा पछाडि परेका देशहरुले भिजनसहित पाँच दशवर्षसम्म कुनै अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिनका लागि खेलाडी तयार पार्ने गर्छन् । त्यस्ता खेलाडीलाई दैनिक प्रशिक्षण गराउनुका साथै अन्य मुलुकमा पनि प्रशिक्षण र प्रतियोगिताहरुमा सहभागिता जनाउन लगाई अनुभव बटुल्ने अवसर सिर्जना गराइदिन्छन् । ती खेलाडीलाई कुनै अभावको महसुस नै गर्ने वातावरण बनाइँदैन, सोही कारण पनि उसले अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो खेल प्रदर्शन गर्नुका साथै पदक ल्याउन सक्छ । तर, नेपालमा खेलाडीहरुलाई कुनै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनुपर्ने भयो भने पहिलो कुरा त राजनीतिकरणका कारण गैर खेलाडीलाई सहभागिता जनाउने अवसर दिइन्छ भने अर्को कुरा राम्रो खेलाडीलाई पनि ६ महिना अगाडिदेखि मात्र प्रशिक्षणका वातावरण बनाइन्छ, विदेशमा प्रशिक्षण लिन जाँदा पनि प्रशिक्षक राजनीतिक नियुक्त भएका कारण खेलाडीलाई राम्रो प्रशिक्षण दिलाउनु भन्दा पनि घुमघाममै व्यस्त हुन्छन्, यस्तो अवस्थामा खेलाडीले पदकको त कुरै छाडौं राम्रो खेलसमेत प्रदर्शन कसरी गर्न सक्छ ?
जबसम्म खेलकुद क्षेत्रमा राजनीतिकरण र राम्रोलाई होइन हाम्रोलाई छान्ने प्रवृत्ति हुन्छ, तबसम्म नेपालको खेलकुद क्षेत्रको भविष्य अन्धकार नै हुने चित्रकार बताउँछन् ।
चित्रकार दैनिक आफ्नो जिविकोपार्जन र परिवारको दैनिकी चलाउन र आफ्ना छोराछोरीको उच्च शिक्षाका लागि हाल अन्य पेशा अंगाल्न बाध्य छन् । चित्रकार हाल टियु अन्तर्गत सानोठिमी क्याम्पसमा कार्यरत रहेपनि तेक्वान्दो खेलको मायाका कारण बिहान र बुलुकी दैनिक ३५ देखि ४० जना तेक्वान्दोको खेलाडीलाई प्रशिक्षण दिँदै आइरहेका छन् ।
वास्तवमा नेपालले तेक्वान्दो खेललाई राम्रो लगानी गरी खेलाडीको मनोभावना बुझी १० वर्षपछि पदक ल्याउने लक्ष्यले लगानी गरी निरन्तर प्रशिक्षण दिने र सोही अनुसार अनुभवका लागि विभिन्न मुलुकहरुमा प्रशिक्षणका लागि पठाउने गरेको खण्डमा तेक्वान्दो खेलले सजिलै रुपमा अन्तर्राष्ट्रिय स्तरमा पदक ल्याउनुका साथै तेक्वान्दो खेलप्रति नयाँ पिँढीको पनि चासो र सहभागिता बढ्ने प्रशिक्षक चित्रकार बताउँछन् ।

सम्बन्धित समाचार