काठमाडौं । सरकारले अति आवश्यक काम नपरी घरबाट बाहिर नजान आग्रह गरेको छ । काठमाडौं उपत्यकाजस्तै घनाबस्ती भएका सहरहरुमा कोरोना संक्रमितहरुको संख्या बढिरहेको छ, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पत्रकार सम्मेलनमा भने, संक्रमण बढ्दै गए पनि पसल, कार्यालय, सार्वजनिक स्थान, सवारी साधनमा र खासगरी लाइनमा बस्दा कतिपय व्यक्तिहरुले जनस्वास्थ्यका मापदण्ड अपनाएको देखिँदैन ।
विशेष गरी खाद्यान्न, तरकारी र फलफूल पसलमा केही नभएजस्तो गरेर अर्को व्यक्तिसँग नजिकै गएर सामान किन्न हतार जो कोहीले पनि देखिरहेका छन्, र भोगिरहेका छन् ।
बिना सावधानी अपनाइ हामी यातायातका साधनमा बसिरहेका छौं, पाहुना वा साथीभाइसँग मज्जाले चाडपर्व पनि मनाइरहेका छौं । कार्यालयहरुमा अझै पनि बैठक गर्ने, सभा सम्मेलन गर्ने कार्यलाई निरन्तरता दिइएको पाइन्छ । यस्तै स–साना व्यवहारहरु र हतार गर्ने बानीले नै हामीलाई कोरोनाको जोखिममा पारिरहेको छ र संक्रमण बढिरहेको छ ।
सरकारले घरबाट बाहिर निस्कँदा अनिवार्य मुख छोपिने गरी मास्क लगाउन आग्रह गरेको छ । कार्यालय, पसल, यातायातका साधन वा जहाँ पनि एक अर्कोसँग सधैँ कम्तिमा दुई मिटर टाढा बसौँ, सरकारले अनुरोध गर्दै भनेको छ, कुनै पनि बस्नु वा सतह छोएपछि, कार्यालय वा घरभित्र छिर्दा साबुन पानीले मिचिमिच कम्तिमा २० सेकेन्डसम्म हात धोऔँ वा हात फोहोर छैन भने अल्कोहल भएको स्यानिटाइजरको प्रयोग गरौँ । जथाभावी नथुकौँ भन्ने विज्ञापनहरु विभिन्न संचार माध्यमहरुबाट सरकारले सूचना प्रवाह गरिरहेको छ ।
स्वास्थ्य सुरक्षाका अभ्यासहरुसँगै अति आवश्यक काम नपरी घरबाहिर नजान पनि सरकारले आग्रह गरिरहेको छ । घरमा पाहुना नबोलाऔं र पाहुना बन्न पनि नजाऔं । यदि कोरोना संक्रमित स्थानबाट आउनु भएको छ वा विदेशबाट आउनुभएको छ भने अवश्य १४ दिनसम्म सरकारले बनाएको मापदण्ड पालना गरी क्वारेन्टिनमा बसौँ ।
कोरोना घरभित्र आउन नदिन सबै सुरक्षाका उपाय पालना गर्न सरकारले आग्रह गरेको छ ।