काठमाडौं । नेकपा एमालेको अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले २८ फागुनको निर्णय नसच्याए ठुलो दुर्घटना हुने देखिएको छ । ओलीले उक्त दिन बालुवाटारमा आफू निकट केन्द्रीय सदस्य डाकेर अध्यक्ष र महा—सचिव बाहेकका निर्वाचित पदाधिकारी नै खारेज गरेका थिए । त्यसले नेकपा विवाद उत्कर्षमा पुगेको छ । कदमबाट पछि हट्न ओलीमाथि एमालेभित्र दबाब छ । तर, उनी टसमस भएका छैनन् । बरु उल्टै केन्द्रीय कमिटी बैठकमा सहभागी नभए कारबाहीको चेतावनी दिएका छन् । उनले फेरि कठोर निर्णय गर्न सक्ने बुझिएको छ ।
ओलीले एकपछि अर्को कठोर निर्णय गरेपछि नेकपा एमाले विभाजनको नजिक पुगेको छ । सहमतिको अन्तिम प्रयास समेत सफल हुन नसकेपछि अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, प्रभावशाली नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल अलग—अलग ढंगले सक्रिय हुन थालेका छन् । एकता अभियान चलाएका बामदेव गौतमको पनि आफ्नै रणनीति छ । २८ फागुनमा ओलीले अध्यक्ष र महा—सचिव बाहेकका निर्वाचित पदाधिकारी नै खारेज गर्न चालेको कदम नसच्चिए एमाले फुट्ने निष्कर्ष नेपाल खनाल र गौतम पक्षधरले निकालेको छ । तर, ओली चालिसकेको कदमबाट पछाडि हट्न तयार देखिएका छैनन् ।
बुधबार नेपाल खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला ओलीका लागि चुनौती हो । ७ फागुनमा डाकिएको केन्द्रीय कमिटी बैठक नेपाल खनाल समूहमात्र नभई गौतम समूहले समेत बहिष्कार गर्न सक्छ । योसँगै एक अर्कामाथि कारबाहीको कदम चाल्न शुरु हुने देखिएको छ । ओलीबाट नेपाल खनाल समूह विभाजित भएमा प्रभावशाली नेता बामदेव गौतम छुट्टै दल खोल्ने रणनीति बनाएका छन् । उनी कुनै पनि समूहमा नलागी तटस्थ भूमिकामा छन् । अब उनले एकता अभियानका नाममा जसरी पनि कदम चाल्ने तयारी गरेको बुझिएको छ ।
ओलीले नेपाल र खनाल समूहका नेताहरुमाथि कारबाहीको चेतावनी दिएका छन् । नेपाल समूहका नेता योगेश भट्टराईले कारबाही भोग्न तयार रहेको बताइसकेका छन् । कारबहीको कदम चालिएर एमाले फुट्ने निश्चित जस्तै हुने देखिन्छ । एमालेलाई फुटबाट जोगाउन बामदेव गौतमले अन्तिम प्रयास जारी राखेका छन् । उनले २८ फागुनमा ओलीले चालेको कदम फिर्ता लिन लगाउने प्रयास गरिरहेका छन् । तर, ओली त्यसमा पछि नहट्ने अडानमा छन् ।
बामदेवको छुट्टै दल
छुट्टै दल खोल्न बामदेवलाई पनि समर्थकले सुझाएका छन् । एमाले फुटेको अवस्थामा गौतम कुनैपनि समूहमा नलाग्ने तयारीमा छन् । त्यसपछि छुट्टै दल खोल्ने तयारीमा लागेका छन् । एमाले फुट्ने निश्चितप्रायः भएपछि उनी कुनैपनि समूहमा नलागी अलग समूह बनाएर बस्ने तयारीमा बसेका हुन् । गौतम सकभर फागुन २८ गते अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम सच्याउन लाग्ने गरी सक्रिय भएका छन् । ओलीले कदम सच्याएर पार्टी एक हुनसक्ने उनको बुझाई छ । अध्यक्ष र महा—सचिवबाहेकका निर्वाचित पदाधिकारी नै खारेज गर्ने ओलीको कदम नसच्चिए एमाले फुट्ने गौतम पक्षको निष्कर्ष रहेको छ ।
नेकपा एकता अभियानको भेलाले ओलीको कदम नसच्चिए एमाले फुट्ने र त्यतिबेला कस्तो कदम चाल्नेबारे समेत छलफल गरी सुझाव दिएको छ । जसमा एक समूहले माधव नेपाल झलनाथ खनालको समूहमा जोडिन भनेको छ । तर, अधिकांशले एकता अभियानलाई यथावत् राखेर छुट्टै ढंगले बढ्न सम्झाएको छ । गौतमले पनि कुनै पनि समूहमा नलागी आफ्नो छुट्टै समूहलाई सक्रिय बनाउने तयारी गरेका छन् । त्यो अभियानमा सिमित हुने या दलका रुपमा समेत दर्ता हुनसक्ने बुझिएको छ ।
यसैगरी ओली र नेपालले एकले अर्कामाथि कारबाहीको चेतावनी दिएपछि एमाले फुटको संघारमा पुगेको हो । एमालेभित्र नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र स्थायी कमिटीमा नेपाल खनाल समूहको बहुमत थियो । केन्द्रीय कमिटीमा भने ओली झीनो मतले बहुमतमा थिए । संसदीय दलमा ओली समूहमा ८० जना रहेका छन् । नेपाल खनाल समूहमा ३५ को हाराहारीमा छन् । बाँकी सांसद तटस्थ भूमिकामा छन् । केन्द्रीय कमिटी र संसदीय दलको अंकगणितले निकै अर्थ राख्ने देखिन्छ । यसकारण दुवै समूह केन्द्रीय सदस्य र सांसदहरुलाई तान्न लागेका छन् ।
ओलीले किन भने देउता आएर बचाइदिए
एमाले नेता माधवकुमार नेपालले २ फागुनमा धुम्बाराहीमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटको विषय खुलासा गरेका छन् । ओलीले एक्लै भेट्न खोज्दा आफूले कुप्रचार हुने भएकाले नमानेको सुनाए । फेरि माधव नेपालले पद बचाइदिनुहोस् न भनेको भनेर प्रचार शुरु गर्छन्, नेपालले भने । त्यसैले सामूहिक रुपमा भेटेँ । ओलीले भेट्न आग्रह गर्दा आफूले धुम्बाराहीमा मात्र भेट्ने जवाफ दिएको सुनाए एक्लै भेट्दिनँ भनेँ,’ उनले सुनाए । ओलीले आफूलाई चट्टानमा लगेर बजारेको बताएको उल्लेख गरे । उनले भने,‘देउता आएर बचाए भन्नुभयो ।’
नेपालले ओलीमािथ एकताको ढोका बन्द गरेको आरोप लगाए । ‘एकताको ढोका सबै बन्द गर्नुभएको छ,’ नेपालले भने,‘अहंकार र दम्भका कारण निर्णय उल्टिदैन भन्नुभयो ।’ आफूहरुले नयाँ अध्यायबाट शुरु गरौं भन्दा शुरु हुन सक्दैन भनेको सुनाए । आफूहरुलाई उल्टै आत्मालोचना गर्न भनेको सुनाए ।