दुई दशकदेखि तेक्वान्दोको प्रशिक्षण दिदै क्वान योङ दल

18.6k Shares

काठमाडौं । नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीहरु नेपालमा आफ्नो र परिवारको भविष्य नदेखेर विदेशिन बाध्य भइरहेको अवस्थामा एक विदेशी प्रशिक्षकले नेपालको खेलस्तर उकास्नका लागि नेपाली खेलाडीहरुलाई लामो समयदेखि प्रशिक्षण दिँदै आइरहेका छन् । 
कोरियन सरकारले क्वान योङ दल-Kwon yeong Dal_ -Kwon yeong Dal_ लगायत प्रशिक्षकहरुलाई विश्वसामु तेक्वान्दो विकासका लागि केही मुलुकहरुमा प्रशिक्षक पठाएको थियो । सोही अनुरुप नेपाललाई विश्वसामु चिनाउने खेलको रुपमा रहेको तेक्वान्दो खेलको विकास र विस्तारका लागि सन् १९९८ देखि नेपाली खेलाडीहरुलाई निःशुल्क रुपमा नियमित प्रशिक्षण दिलाउनका लागि क्वान योङ दललाई पठाएको थियो । 
सिड्नी ओलम्पिक २००० बाट तेक्वान्दो खेललाई अफिसियल गेमको मान्यता दिएपछि तेक्वान्दो खेल विकासका लागि भनी कोरियन सरकार र विश्व तेक्वान्दो मुख्यालय कुकिवन -Kukkiwon_ले थप युरोप, अफ्रिका, साउथ अमेरिका, एसियालगायतमा रहेका ५० वटा देशहरुमा निःशुल्करुपमा तेक्वान्दो प्रशिक्षणका लागि क्वान योङ दललगायत ५० जना प्रशिक्षक पठाएको थियो ।


तेक्वान्दो खेल विकासका लागि विश्व तेक्वान्दो मुख्यालय कुकिवान र कोरियन सरकारले आफ्नै देशबाट सेवा सुविधा उपलब्ध गराई ५० जना प्रशिक्षकलाई विभिन्न मुलुकहरुमा पठाएको हो । सोही क्रममा करिब २३ वर्षदेखि कोरियन प्रशिक्षक क्वान योङ दलले नेपालको तेक्वान्दो विकासका लागि योगदान दिँदै आइरहेका छन् । 
२३ वर्ष नेपालमा बसोबास गरेको क्वान योङ दल भन्छन् कोरियाको र नेपालको संस्कृत मिल्दो जुल्दो भएको र नेपाली खेलाडीहरु प्रशिक्षणको क्रममा एकदम मेहनत गर्ने भएकै कारण पछिल्लो समय नेपालले तेक्वान्दो खेलमा निकै सुधार गरिसकेको छ । यो हिसावले म एकदम सन्तुष्ट भएको र २३ वर्ष वितेको पत्तै नभएको बताउँछन्  । नेपालमा आफ्नो झण्डै आधा जीवन विताएको र आफ्नो श्रीमती र दुई छोरासमेत नेपालमै बसोबास गरी नेपालमै अध्ययन गरिरहेको उनी क्वान योङ दल बताउँछन्  । 
क्वान योङ दलले नेपाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडीहरुलाई लामो समयदेखि प्रशिक्षण दिँदै आइरहेका छन् । सोही क्रममा यथेन्स ओलम्पिक २००४ का लागि पहिलो पटक छनौट चरणबाट सहभागी भएकी तेक्वान्दो क्वीनका रुपमा रहेकी संगीना बैद्यको प्रशिक्षकको भूमिका निर्वाह गर्दै ग्रिस्मा गएका थिए । क्वान योङ दलले विश्व च्याम्पियनसिप, एसियन च्याम्पियनसिप, ९ औं साग, ११ औं साग र हालै नेपालमा आयोजित १३ औं साग गेममा तेक्वान्दो खेलको कोचको भूमिका निर्वाह गरी नेपाललाई दोस्रो स्थानमा ल्याउन महत्वपूर्ण भूमिका खेलेका थिए । 
हाल नेपाल प्रहरीको तेक्वान्दो टिमको प्रमुख प्रशिक्षकको रुपमा कार्यरत रहेका क्वान योङ दलले विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणमा पनि भर्चुअल माध्यमबाट खेलाडीहरुलाई निरन्तररुपमा प्रशिक्षण दिँदै विभिन्न अन्तर्राष्ट्रिय भर्चुअल प्रतियोगितामा सहभागिता गराउन लगाई महत्वपूर्ण पदक दिलाउन विशेष भूमिका निर्वाह गर्दै आएका थिए । 
प्रशिक्षक क्वान योङ दल आठौं डान ब्ल्याक बेल्ट हासिल गर्नुका साथै तेक्वान्दो खेलका अन्तर्राष्ट्रिय निर्णायक पनि हुन् । तेक्वान्दो खेलका प्राविधिक ज्ञानमा अब्बल रहेका प्रशिक्षक क्वान योङ दलको योगदानले नेपालमा तेक्वान्दो खेलको विकासमा अहम भूमिका निर्वाह गरेको नेपाल तेक्वान्दोकर्मीहरुले खुलेरै प्रशंसा गर्ने गरेका छन्  । 
तेक्वान्दो खेलको नियम तथा प्राविधिक पक्ष समय—समयमा परिवर्तन हुने भएका कारण त्यसलाई खेलाडी र प्रशिक्षकहरुलाई जानकारी गराउनलाई विभिन्न सेमिनार र तालिमहरु नियमितरुपले संचालन गर्ने र अन्तर्राष्ट्रिय सहभागितालाई निरन्तरता दिएको खण्डमा नेपालमा तेक्वान्दो खेलाडीले सफलता हासिल गर्न कुनै कठिनाई नपर्ने क्वान योङ दल बताउँछन् । 
नेपालका तेक्वान्दो खेल्न इच्छा गर्ने तर प्रशिक्षकको अभावका कारण खेल्न नसकेका खेलाडीहरुलाई दुर्गम गाउँमै गएर आफूले निःशुल्क रुपमा प्रशिक्षण दिई राम्रो खेलाडीहरु उत्पादन गर्ने क्वान योङ दल बताउँछन् । 
तेक्वान्दो विकासका लागि सहर केन्द्रित नभई गाउँ—गाउँमा पनि अन्तर्राष्ट्रियस्तरकै प्रविधिबाट प्रतियोगिताहरु संचालन गरी खेलाडीहरुको पहिचान र खेलाडी छनौट गरेको खण्डमा तेक्वान्दो खेलस्तरमा विकास हुने उनी बताउँछन् । यसतर्फ नेपाल सरकारले ध्यान पु¥याउनुपर्ने जरुरी भइसकेको उनको भनाई छ । क्वान योङ दल पछिल्लो समय तेक्वान्दो खेलमा परिवर्तित र संसोधित नियमलाई लागू गर्न र सोही अनुसार प्रशिक्षक र खेलाडीहरुले प्रशिक्षण दिलाउने गर्दै आइरहेका छन् । 

सम्बन्धित समाचार