चेकिङको नाममा ट्राफिकद्वारा व्यापक असुली

17.6k Shares

नेपालगन्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेमा प्रहरी निरिक्षक गोपीकृष्ण सुवेदी सरुवा भएर आएका छन् । बाँकेमा ट्राफिक प्रहरी आन्तरिक किचलोमा रुमल्लिएसँगै ट्राफिक प्रहरीले सञ्चालन गरेका ‘नो हर्न’ ‘लापसे’, ‘मापसे’, ‘अन द स्पट कारबाही’ लगायतका अभियान अहिले अलपत्र परेका छन् । ट्राफिक प्रहरी प्रमूख फेरिएसँगै पुराना अभियान र कामहरु बीचमै तुहिन्छन् । ट्राफिक प्रहरी सुस्ताएपछि बाँकेका प्रमूख शहरहरुको ट्राफिक व्यवस्थापनमा अस्तब्यस्त छ । ट्राफिक प्रहरी कार्यालयको प्रशासन हेर्दै आएका प्रहरी नायव निरीक्षक खेम पंगेनीको हाकिम हाजिर भएको भोलिपल्ट नै काज फिर्ता भएको छ भने त्यस पछि बरिष्ठ प्रहरी नायव निरीक्षक ओम पौडेलको सरुवा भइसकेको छ । प्रहरी नायव निरीक्षक भुपेन्द्र बिष्ट हाकिमको विश्वास पात्र छन् । तर बिष्टलाई काज फिर्ता हुने डर पनि उत्तिकै छ ।
चेकिङका नाममा ट्राफिक प्रहरीको असुली तीव्र बनेको छ । साँझ परेपछि ट्राफिक प्रहरीको चेकिङ सुरु हुन्छ । अनि चेकिङका नाममा असुली सुरु हुन्छ । धेरै जरिवानाको त्रास देखाउँदै ट्राफिकले पैसा असुली गर्ने गरेको सवारी चालकहरुको भनाइपछि सुवेदी हाकिम हाजिर भएको दुई दिनमै प्रदेश ट्राफिक प्रहरी कार्यालयबाट छानविन टोली आएपछि झनै तनावमा देखिएका छन् । अचम्मको कुरा, चेकिङस्थलमा ट्रक, टिप्परसहित अन्य मालबहाक सवारीसाधन मात्र ट्राफिक प्रहरीको चेकिङमा पर्छन् । अन्य गाडी र मोटरसाइकल चेकिङमा पर्दैनन् । जुन साधनबाट पैसा झर्छ, त्यहीलाई मात्र ट्राफिकले रोक्छ । अनेक बहानामा दुःख दिएर १०० रुपैयाँदेखि ५००–१००० रुपैयाँसम्म रकम असुली हुन्छ । खासगरि नेपालगन्ज, कोहलपुर र खजुरा लगायतका मुख्य बजार क्षेत्रमा देखिएको फितलो ट्राफिक व्यवस्थापनले सर्वसाधरणलाई सास्ती भएको छ । यसले पैदलयात्रीलाई हिँड्डुल गर्न अप्ठेरो बनेको छ । बाँके जिल्लाको ट्राफिक व्यवस्थापन थप भद्रगोेल बनेको छ । ट्राफिक व्यवस्थापन दिनप्रतिदिन झन् अस्तव्यस्त बनेको छ । नेपालगन्जबाट सुर्खेतसम्म पुग्दा ट्राफिकलाई पैसा बाँढ्दा बाँढ्दा एक हजारसम्म रुपैयाँ खर्च हुने उनी बताउँछन् । ट्राफिक प्रहरीले मालबाहक ट्रक तथा ट्याक्टरहरुलाई विभिन्न बाहनामा दुःख दिनेदेखि रकम असुल्ने गरेको गुनासो आउने गरेको छ । चालकले आफ्नो बिलबुकमा हालेर ट्राफिकलाई पैसा दिने गरेका छन् । चालकबाट बिलबुक, लाइसेन्स मागेर ट्राफिक गाडीको ठीक पछाडि आउँछन् । जहाँ यात्रुले नदेखोस् भनेर । त्यहाँ उनीहरुले बिलबुकबाट पैसा निकाल्छन् र बिलबुक फिर्ता गर्छन् । फिल्डमा खटिएका ट्राफिक प्रहरीले जिल्लाका ‘हाकिम’लाई पैसा बुझाउने गरेको स्रोत बताउँछ । ट्राफिक प्रहरीले नेपालगन्ज–कोहलपुर सडकखण्डमा पैसा असुली गर्ने क्रियाकलापले गर्दा हैरानी खेप्नु परेको चालकहरु बताउँछन् । 
ट्राफिक प्रहरी असुलीतिर सक्रिय भएपछि ट्राफिक व्यवस्थापन भद्रगोल छ । स्थानीयहरुका अनुसार ट्राफिक व्यवस्थापनमा भन्दा पैसा असुलीमा ट्राफिकको ध्यान हुन्छ । ट्राफिक नियम पालना गराउनुको साटो बाँकेका मुख्य तथा सहायक राजमार्गका विभिन्न जङ्गल र एकान्तमा बसेर चेकिङ्गका नाममा ट्राफिक प्रहरीले रकम असुलीमा सक्रिय छ । पूर्वपश्चिम राजमार्गका सम्झना, चप्परगौडी, ढकेरी, सम्शेरगन्ज, अगैया र कुसुम, रत्न राजमार्गको नेपालगन्ज, गनापुर, चिसापानी, बसपार्क, फुलटेक्रा लगायतका दर्जनौ स्थानमा ट्राफिक प्रहरी सवारी साधन कुरेर बस्ने गरेका छन् । दुर्घटना न्यूनीकरण गर्नुभन्दा रकम असुली ट्राफिक प्रहरीको प्राथमिकतामा छ । ट्राफिक व्यवस्थापन र ट्राफिक नियम पालनामा राम्रोसँग सुधार गर्नका लागि नियमभन्दा बढी लोड ल्याएका, कागजपत्र नभएकालाई कारबाही गर्नुपर्नेमा ट्राफिक प्रहरीले नै सुधार हुनुपर्ने वातावरण बिगारिरहेको मनप्रसाद आचार्यले बताए । ‘कारबाही गर्ने, जरिवाना तिर्ने वित्तिकै अपराध गरेको भए पनि छुट हुने भनेपछि झन् विकृति बढ्छ,’ आचार्य भने ।खाली ट्रयाक्टरलाई ५०० रुपैयाँको जरिवाना बिल काटेर लोड गर्नुपर्ने भन्दा दुई गुना बढी सामान बोकेर निर्वाधरुपले सडकमा गुड्न दिएको पाइएको छ ।
पहिले नै राजस्व तिरेपछि चाहिए जति लोड गर्न पाइने र कतै प्रहरी वा ट्राफिकले रोकेमा जरिवानाको बिल देखाएपछि बाटोमा रोक्न नै नपर्ने भएपछि ट्राफिक नियम उल्लंघन गर्नेको संख्या दिनानुदिन बढिरहेको पाइएको छ ।एउटै ट्रयाक्टरले भुसको ढुवानीमा लागेका ट्रयाक्टरले महिनामा बीस दिनसम्म जरिवाना काट्ने गरेको पाइएको छ । ट्राफिक नियमको उल्लंघन गरेपछि मात्र चेतावनीस्वरुप राजस्वको दायरामा ल्याउनुपर्नेमा सेटिङमै राजस्व असुलल्दै आएको गुनासो बढेको छ । ट्याक्टरबाट सेटिङमै राजस्व असुल्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले पछिल्लो समय सबै कागजात बोकेर मापदण्डअनुसार नै चलेका टिपरहरुले भने अनुसारको रकम नदिएपछि अनावश्यक रुपमा रोकेर दुख दिने गरेको पाइएको छ ।गिटी, बालुवा, ग्रावेल, इँटा, दाउरा बोक्ने टे«क्टर र भैँसी तथा भुस बोक्ने ट्रकले मागेजति रकम दिने गरेकाले अर्को चेक पोष्टमा झन्झट नहोस् भनेर बाहानाकै लागि मात्र न्यून जरिवाना काट्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्रोतले बतायो ।‘कहिलेकाहीँ रसिद नदिई ‘जरिवाना’ असुली हुन्छ । त्यो रकम सरकारको राजस्व खातामा जम्मा हुँदैन । सबैले मिलिजुली खाने हो,’ ट्राफिक प्रहरी स्रोतले भन्यो । त्यसो त ड्यूटीमै रहेका ट्राफिक प्रहरीले जरिवानाको रसिद नदिई रकम असुल्ने गरेका तथ्यहरु बेला बेलामा बाहिर आउने गरेका छन् ।

सम्बन्धित समाचार