कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सबैको सुझाब समेटेर प्रदेशको योजना बन्ने बताएका छन् । ‘आगामी वर्ष योजना बैंक मार्फत छनौट भएका योजनामा बजेट बिनियोजन गर्ने गरि हामीले तयारी गरिरहेका छौँ’ प्रदेश समन्वय समितिको बैठकमा मुख्यमन्त्री पाण्डेले भने ।
गण्डकी प्रदेश सरकारले दोस्रो पञ्चवर्षिय योजना निर्माण गर्न लागेको र सो क्रममा प्रदेश भित्रका ८५ वटै पालिकाबाट सुझाव लिईने मुख्यमन्त्री पाण्डेले बताए । प्रदेश नीति तथा योजना आयोगले दोस्रो पञ्चवर्षिय योजनाको अवधारणा पत्र तयार गरेको बताउँदै उनले उक्त अवधारण पत्रमाथि जो कोहीले सुझाब दिन सक्ने बताए । ‘नीति योजना आयोगले जो कोहीले सुझाब दिन मिल्ने गरि अनलाईनबाट तयार गर्नेछ’ मुख्यमन्त्री पाण्डेले भने ‘कार्यपालिकाबाट निर्णय गराएरपनि तपाईहरुले सुझाब पठाउन सक्नुहुन्छ ।’
स्थानीय तह, जिल्ला समन्वय समिति र प्रदेशको समन्वयमा योजना बैंकमा योजना छनौट हुने मुख्यमन्त्री पाण्डेले बताए । ‘कुन योजना स्थानीय तह, कुन प्रदेश र कुन संघले गर्ने भन्ने छनौट गर्न योजना बैंक आवश्यक परेको हो’ उनले भने ‘ढिलोमा फागुन मसान्त सम्म योजना छनौट गरिसक्ने तयारी छ,’ छनौटमा परेका योजनालाई बजेट बिनियोजनमा प्राथमिकता दिईने उनले बताए ।