काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विरोधीका पनि विरोधीलाई च्याप्न थालेका छन् । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दोस्रो संविधानसभा निर्वाचनमा सिराहामा झण्डै चुनाव हराएका लिलानाथ श्रेष्ठलाई मन्त्री बनाएका छन् । श्रेष्ठ अहिले कानुनमन्त्री छन् । प्रचण्डलाई चितवनमा चुनावी टक्कर दिने विक्रम पाण्डेलाई पनि ओलीले च्यापिसकेका छन् । पाण्डे ओली समूहमा प्रवेश गर्ने तयारीमा छन् । पाण्डेलाई आफ्नो पक्षमा ल्याउन खोज्नुमा ओलीको राजनीतिक स्वार्थ लुकेको छ ।
पाण्डे विगतमा चितवनबाट चुनाव जित्न सफल भएका थिए । निर्माण व्यवसायी पाण्डेविरुद्ध विशेष अदालतमा मुद्दा छ । सिक्टा सिंचाईमा विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सन विवादमा परेको छ । पाण्डे यो मामलामा सफाई पाउन पनि ओलीसँग नजिकिएका हुन् ।
भरतपुर महानगरपालिकामा रेनु दाहालसँग मेयरका प्रतिष्पर्धी देवी ज्ञवालीलाई पनि ओलीले अवसर दिएका छन् । मतपत्र च्यातिएपछि पुनः मतगणना हुँदा ज्ञवाली झीनो मतान्तरले दाहालसँग पराजित भएका थिए । यो प्रकरणले निकै चर्चा कमाएको थियो । यसैगरी, नेकपा दाहाल नेपाल पक्षधरका अध्यक्ष माधवकुमार नेपाललाई पनि अप्ठ्यारो पार्न ओलीले रणनीति बनाएका छन् । उनले माधव नेपालको गृहजिल्ला रौतहटमा उनलाई कमजोर पार्न प्रभावशाली नेताहरुलाई नजिक ल्याएका छन् । रौतहटका प्रभावशाली नेता प्रभु साहलाई ओलीले मन्त्री बनाएर आफ्नो साथमा ल्याइसकेका छन् ।
ओलीले विरोधीलाई जेल हाल्ने तयारी समेत गरिरहेका छन् । माधवकुमार नेपालले पटक पटक आफूलाई जेल हाल्ने प्रयास हुँदै आएको बताइरहेका छन् । ओलीमाथि आफू र प्रचण्डलाई समात्ने योजना बनाएको आरोप लगाएका हुन् । आइतबार तेह्रथुममा उनले यसो भनिरहँदा ललिता निवास प्रकरणको मुद्दाबारे अदालतले नयाँ आदेश जारी ग¥यो । जसअनुसार प्रमाणका कागजातहरु झिकाउन आदेश दिइएको छ । ललिता निवास जग्गा प्रकरणमा अख्तियारदेखि अदालतसम्मले चासो लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रेमकुमार राई प्रमुख आयुक्त भएलगत्तै ललिता निवासको फाइल फेरि खुल्न लागेको हो ।
बालुवाटार जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध परेको रिटमाथि सुनवाई गर्दै सर्वोच्च अदालतले प्रमाण झिकाउन आदेश दिएको हो । उक्त जग्गा प्रकरणमा अभियोगपत्र दर्ता गर्दाका प्रमाणहरु झिकाउन आदेश दिएपछि अख्तियार त्यसमा लागेको छ । ललिता निवास जग्गा प्रकरणमा सरकारी जग्गालाई व्यक्तिको नाममा नामशारी गर्दाको प्रक्रियामा माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई प्रधानमन्त्री थिए । तर, उनीहरुलाई मुद्दा नचलाइएको भन्दै अदालतमा मुद्दा दायर गरिएको थियो ।
प्रधानमन्त्री ओलीले सोमबार सरकारको तीन वर्षे कार्यप्रगतिबारे बोल्ने क्रममा ललिता निवास जग्गा प्रकरण र मातातीर्थ जग्गा प्रकरणबारे छानविन गरी कारबाही बढाइएको विषय पनि उल्लेख गरे । ललिता निवास जग्गा प्रकरणमा माधव नेपाल र डा. बाबुराम भट्टराई पनि मुछिएका छन् । ललिता निवास जग्गा प्रकरणमा पनि बाबुराम मुछिएका छन् । उनलाई पनि ओलीले तारो बनाएको चर्चा छ ।
लडाकुको रकम हिनामिनासम्बन्धी विषयमा छानविन अगाडि बढाउन ओलीले दबाब बढाएका छन् । तत्कालिन माओवादी अध्यक्ष प्रचण्डमाथि लडाकुको रकम हिनामिनाको आरोप लाग्दै आएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा गएका पूर्व माओवादी नेता तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले शनिबार बुटवलको सभामा बोल्दै लडाकुका लागि आएको अरबौं रकम खोइ ? भनी प्रश्न उठाएका छन् । उनले १९ अर्ब खोइ भनी प्रश्न गर्नुलाई अर्थपूर्ण मानिएको छ । ओलीभन्दा पनि उनको समूहमा पुगेका पूर्व माओवादी प्रचण्डविरुद्ध उग्र भइरहेका छन् ।